Listen Live: 

अवर्ण्य आगन्तुक

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

माइतीघरको टर्निङमै प्रहरीको सुरक्षा पंक्ति उभिएको देखेपछि पुलचोक क्याम्पसबाट २० मिनेटसम्म मलाई हिँडाउँदै ल्याएका मेरा दुई खुट्टाहरूलाई थपथपाउँदै भनेँ, 'ल सरहरू, आजको वार्मअप बल्ल सकियो, अबको थप पैदल यात्रा कोटेश्वर सम्मको!'

उता बानेश्वरमा अवस्थित संसद भवनमा केही समूहहरूबाट अमेरिकी अनुदान सम्बन्धी एमसिसी कम्प्याक्ट प्रस्तुत भएछ। भवनअगाडि प्रदर्शनकारीहरूको हुलदुङ्गा छ भन्ने यता-कता हावामा सुन्न आयो। यता माइतीघरमा आठ लेनको बाटोमा फाट्टफुट्ट मोटरबाइक बाहेक कुनै गाडी थिएनन्। अरुबेला एक सेकेन्ड अँखाले फुर्सद पाउँदैनथे, आज आँखा चिम्लेरै बाटो काटेँ भनुम्।

अचानक मेरो मोबाइल भाइब्रेट भयो। अनजान नम्बरबाट फोन आइरहेछ। उठाउनासाथ केटी मान्छेको आवाजमा प्रश्न आयो, 'तिमी कहाँ छौ?'

म? म माइतीघर छु।'

'माइतीघर कहाँ?'

'देब्रे पट्टिको फुटपाथमा, बानेश्वरतर्फ जाँदैछु। अनि साँच्ची, हजुर को बोल्नुभयो होला?' फोन कटिसकेछ।

मैले ट्वाल्ल परेर फोनलाई हेरेँ, र मनमनै 'खै! के हो के हो?' भन्दै खल्तिमा राखेँ।

'त्यो फुटपाथ होइन नि, तिमी हिँडेको ठाउँ। त्यो त साइकल लेन हो,' बायाँ तर्फबाट मेरो कानै छेउमा छोरी मान्छेको आवाज आयो।

मुन्टो घुमाएर हेरेँ। मुख त अपेक्षित रुपमै मास्कले छोपिएको थियो, आँखा पनि सनग्लासेसले ढाकिएका रहेछन्। मध्यान्नपश्चात केही पश्चिमतर्फ ढल्किएको चम्किलो घाममा उनको कपाल रातो-रातो टल्किरहेको थियो। एकाएक अल्मलिएको मबाट केबल 'हजुर?' भन्दै एक आश्चर्यको भाव निस्कियो।

'तिमीले फोनमा कसैलाई फुटपाथ भनेको सुनेँ, त्यही भएर भनेको। फुटपाथ त यता भित्तातिर हो।'

म भने सडकको छेउबाट हिँडिरहेको थिएँ।

एकछिन त हावा कुराजस्तो लाग्यो, फेरि भुइँतर्फ हेरेँ, म हिँडिरहेको ठाउँमा खरानी रंगका कङ्क्रिट इँटा बिछ्याइएका थिए भने भित्तातर्फ गुलाबी रंगका। कुनै चिन्ह त थिएनन् तर पनि हो जस्तो लाग्यो। उनीतर्फ मुस्कुराउँदै हेरेर 'ओहो! हो र? ल त' भन्दै म पनि गुलाबी रंगका इँटामाथि हिँड्न थालेँ।

यही ठाउँको बारम्बार संसर्गमा आएको तीन वर्ष कटिसकेको थियो। तिनै बिछ्याइएका कङ्क्रिट इँटामाथि उभिएर म हरेक दिन माइतीघरमा भक्तपुरतर्फ जने बस कुर्थेँ। कहिलेकाहीँ, केहीबेर अझ यसै बरालिन मन लाग्दा तिनै, घरी खरानी त घरी गुलाबी इँटामाथि हिँडेको हुँदो हुँ। तर आजसम्म पनि छुट्याउन नसक्ने कस्तो दृष्टिदोष मेरो! हुन त एउटा पनि साइकल त्यो लेनमा गुडेको मैले आजसम्म देखेको थिइनँ। अब यसलाई के भन्ने? मेरो बेहोसी कि सडक विभागको डिजाइन फेलियर? सायद दुवै।

हाम्रो हिँडाइको गति मिलेर हो, या मलाई उनीसँगै हिँड्न मन लागेर हो अथवा उनलाई मसँगै, या त बोल्दाबोल्दै अघिपछि लाग्नु अशिष्ट होला भन्ने डरले हो, हामी मौन रहे पनि निकैबेरसम्म लगभग सँगसँगै हिँडिरह्यौँ। केही अकवार्ड महसुस भएपछि अलिकति आत्मविश्वास बटुलेर मैले उनीतर्फ फिर्दै भनेँ, 'तपाईँको र मेरो खुट्टाको अस्सिलेसनको डिस्प्लेसमेन्ट त मिल्दो रैछ त।'

तत्काल उनको कुनै प्रतिक्रिया आएन। मलाई आत्मग्लानी भैहाल्यो। 'खुब बाठो हुनुपरेको तँलाई, फेरि भन्न नि के भनेको? अर्थ न बर्थको। सिम्पल, स्पीड भनेको भए भैहाल्थ्यो त। फेरि उनी विज्ञानको विद्यार्थी हैन रै'छिन भने?' मनमनै आफैँलाई सराप्दै थिएँ, उनले त मेरो खुट्टाको चालसँग आफ्नो चाल मिलाउँदै भनिन्, 'हेर त, फ्रिक्वेन्सी पनि मिलिरा'छ।'

म हाम्रा पाइला हेर्दै 'है?' भनेर मुसुक्क हाँसे। मन बडो आनन्दित भयो।

फ्रिक्वेन्सी त उनले ट्युन् गरिहालिन्, अब अस्सिलेसनको डिस्प्लेसमेन्ट पनि साँच्चीकै बराबर भएको थियो। त्यसपछि त हामी रेडियो जसरी नै बोलेको बोलै अघि बढ्यौँ। गाडी नपाएर हिँडिरहेका अरु मान्छेहरू पनि प्रशस्तै थिए। उनी मलाई प्रश्न गर्थिन्, म उत्तर दिन्थेँ।

म उनलाई प्रश्न गर्न खोज्थेँ, उनी बीचैमा रोकेर उनको अघिल्लो प्रश्नको सन्दर्भ जोडेर अर्को प्रश्न गरिहाल्थिन्, म फेरि उत्तर दिन्थेँ, तत्कालै उनको अर्को उत्सुकता प्रश्नवाचक लिएर आइहाल्थ्यो। यसरी उनले मेरा तीन पुस्तासम्म जानिन्, मलाई भने सिर्फ उनको नाम थाहा भयो, अंशु।

हामी बिजुली बजारको 'आर्क ब्रिज' कटिसकेका थियौँ। बीच सडकमा प्रदर्शनकारीहरू देखिन थालिसकेका थिए। प्रायःका निधारमा 'नो एमसिसी' लेखिएका पट्टी बाँधिएका थिए, कसैका राता रंगका त कसैका काला। हरेकको एक हातमा आ-आफ्नो गठबन्धनको झण्डा फर्फराइरहेको थियो, अर्को हातले भने मुठी बनेर नाराबाजको तालमा आकाश चुटिरहेको थियो। 'देश बेच्न पाइँदैन, एमसिसी चाहिँदैन'।

'ऊ त्यहाँ हेर न,' उनले केही अगाडि सडकपेटीमा एक्लै बसेर सारङ्गी रेट्दै गरेको एक अधवैँशे पुरुषतर्फ इङ्गित गरिन्। नितान्त पृथक दृष्य थियो त्यो। नाराबाजीको कोलाहलमा ती दाइ एक्लै आफ्नो मसिनो सङ्गितमय आवाजलाई बुलन्द पार्न खोजिरहेका थिए। कुन गीत गाउँदै रहेछन् भनेर सुन्न अलि चाँडो पाइला चाल्दै गर्दा उनले अन्ततः सोधिन्,

'अनि एमसिसीको विषयमा तिम्रो राय के छ नि? '

मलाई झट्का लाग्यो। न त मैले यस विषयमा कहिल्यै गहिरिएर सोचेको थिएँ, न त कम्प्याक्ट नै पढेको थिएँ। खैर, मनमा कता-कता एउटा सामान्य धारणा पलाइरहेको थियो तर पनि अर्धज्ञानबाट पोषित कुनै काँचो वाक्य बोल्न मलाई निकै डर लाग्यो।

'आहा! गोपाल योञ्जनको गीत' उनी एक्कासी खुसी हुँदै बोलेपछि थाहा भयो, हामी गाइने दाइ नजिकै आइपुगेछौँ। गाउँदै थिए, '....तर, कोही परायले टेके सहन्नँ...।'

मलाई यो वाक्यले कता-कता छोएजस्तो भयो। उनीतर्फ फिरेँ, मास्कले छोपेको ओठको मुस्कानलाई आँखामा प्रतिबिम्बित पार्न खोज्दै भनेँ,

'मेरो यस विषयमा कुनै धारणा बनिसकेको छैन अंशुजी, सायद म असल नागरिक हुन सकिनँ।'

उनले एकछिन अडिएर मतर्फ फिर्दै ठट्यौली शैलीमा भनिन्, 'त्यो पर्दैन।'

हामी दुवै केपि बा'लाई सम्झेर एकछिन हाँस्यौँ र हिँड्न थाल्यौँ।

एक्कासी अगाडि ठूलो कोलाहल मच्चियो। हामी ठिक एभरेष्ट होटलअगाडि थियौँ। हजारौँको सङ्ख्यामा रहेको भिड होहल्ला मच्चाउँदै हामीतर्फ बरङरङ् कुद्दै आउन थाल्यो। हामीजस्तै बाटो हिँड्ने अरु सर्वसाधारणहरू पनि आत्तिँदै पछाडि फर्किएर कुद्न थाले। त्रासदि र अचानकको अस्तव्यस्तताले मेरा पाइला रोकिए।

प्रदर्शनकारीले निषेदित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि प्रहरीले लाठीचार्ज र रबर बुलेट फायरिङ सुरु गरेछन्। म तर्सिएर किंकर्तव्यविमूढ बनी उभिइरहन पुगेछु। नजिकैबाट फायरिङको आवाज आएपछि मात्र म यथार्थप्रति केही सचेत भएँ। कोही भन्दै थियो, 'ओए, ढुंगाले हान् न डन्ठेलाई ढुंगाले।'

त्यसैबीच बहुत घतलाग्दो मानवता देखाउँदै अर्को व्यक्ति सतर्क गराउँदै थियो, 'मान्छेलाई लाग्ला है मान्छेलाई'। मानौँ प्रहरी मान्छे नै होइन।

छेउमा अंशुलाई खोजेँ। उनी थिइनन्। अगाडि हेरेँ। उनी त निकै अघि पुगिसकेकी रहिछन्। चिच्याएर पछाडि बोलाउन खोजेँ। त्यो कोलाहलमा मलाई आफ्नै आवाज सुन्न हम्मेहम्मे परिरहेको थियो। उनले के सुन्लिन्? उनका पाइला त बेपर्वाह अघि चलिरहे। कतिबेला कर्कशले मेरो कान बन्द गारिदिएछ, मस्तिष्कैबाट टुन्न आवाज बज्न थाल्यो। मेरा आँखा भने छक्क पर्दै निर्निमेष अंशुलाई नियालिरहेँ।

केही पर पुगेपछि उनी रोकिइन्। ज्याकेटको खल्तीबाट निलो रंगको मसिनो कपडा झिकिन्। हेड ब्यान्ड रहेछ। टाउकोमा लगाएपछि एकपटक पछाडि फर्केर हेरिन्। 'नो एमसिसी' लेखिएको थियो। फेरि अगाडि फर्केर झोलाबाट नेपालको राष्ट्रिय झण्डा निकालिन्, र दुई हातले उचाल्दै बग्दै आएको भिडलाई चिर्दै भित्र-भित्र छिरिन् र बिलाइन्।

मेरा आँखा एक्कासी पोल्न थाले, र आँसुले टम्म भरिए। कतिबेला अश्रु ग्याँसमा परिएछ, थाहै भएन। म पनि पछाडि फर्किएर हुलसँगै कुद्न थालेँ। मेन रोड छोडेर दाहिनेपट्टि गल्लीभित्र छिर्ने बाटो पक्रिएर भित्रभित्रै संसद भवन पछाडिपट्टिको बाटो हुँदै गएँ।

मेरो मस्तिष्कमा हरपल अंशु र गाइने दाइको चित्र खेलिरह्यो। कता गए होलान्? के गरे होलान्? न्यास्रो लागिरह्यो। अन्ततः म संसद भवन पूर्वपट्टिको बाटो हुँदै, सिभिल हस्पिटलको सम्मुख चोकमा निस्किएँ। यता स्थिति साम्य रहेछ। बाटो काटेर हस्पिटलको गेटै अगाडिबाट कोटेश्वरतर्फ फटाफट पाइला बढाएँ।

फेरि मोबाइल भाइब्रेट भयो। नम्बर सेभ त थिएन तर परिचित नै लाग्यो। उठाउनासाथ उही परिचित आवाजमा प्रश्न आयो, 'तिमी कहाँ छौ?'

'म? म सिभिल हस्पिटलअगाडि, कोटेश्वर तर्फ जाँदैछु।' यति भन्नासाथ फोन कटिहाल्यो। म पूर्वतर्फ हिँड्दै थिएँ। पश्चिमको घामले गर्दा मेरो अगाडि छाया बसेको थियो। एकैछिनमा अर्को एक छाया बायाँतर्फ सँगसँगै हिँड्न थाल्यो।

मैले मुन्टो घुमाएर हेरेँ। मुख त अपेक्षित रुपमै मास्कले छोपिएको थियो, आँखा पनि सनग्लासले ढाकिएका रहेछन्। पश्चिमतर्फ ढल्किएको घाममा उनको कपाल रातो-रातो टल्किरहेको थियो। 

आन्य समाचारहरु:-
May 1, 2023
अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी

चितवन, वैशाख १८( अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको […]

April 2, 2023
मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ

रौतहट, चैत १९( रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको […]

March 3, 2023
व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यवद्धता

काठमाडौं फागुन १९( व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका […]

February 19, 2023
किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै

काठमाडौं, फागुन ६– किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram