चितवन, वैशाख १८( अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको […]
सहिदको छोराको प्रश्न

जतिबेला मेरा पैतालाहरूले जमिन खोज्दै थिए, जतिबेला मेरो आवाजमा शब्दहरूको घर बन्दै थियो, ठिक त्यही समयमा मेरो देश बारुदको धुवाँभित्र निस्सासिइरहेको थियो। बम र गोलीको निसानीले देश रक्ताम्मे थियो। युद्धको आगोले हजारौँ जिन्दगीको बली मागिरहेको थियो।
नदीहरूमा पानी होइन, रगत बग्थ्यो। बगरहरूमा ढुङ्गा होइन, मान्छेका हाडहरू भेटिन्थे। समयको पोल्टामा जीवनभन्दा बढी गह्रुंगो थियो मृत्युको भार। मानिसका आँगनहरूमा अनाजको बिस्कुन होइन, पीडाको बिस्कुन भरिएको थियो त्यो समय। हो, त्यही समयमा आएको क्रान्तिको भेल मेरो घरमा पनि पस्यो।
क्रान्तिले हात समात्यो र परिवर्तनको सपनाले साथ दियो। क्रान्तिको रक्तरञ्जित मार्गमा गरिब दुखीहरूको सपनालाई साकार बनाउने सपना देखेर बुवा जंगल पस्नुभयो। देशले बली मागेको बेला बलिदानीको कोटा चुक्ता गर्न सबैभन्दा अगाडि उभिनुपर्छ र सेवा सुविधा लिन अरु मानिसहरूलाई बाटो छोडिदिनुपर्छ भन्ने इमान्दारिताको शिक्षाबाट दीक्षित मेरो बुवा सारा वैयक्तिक इच्छा, चाहना र भावनाको मलामी बनेर क्रान्तिको मैदानमा होमिनु भएको थियो।
हजारौँ मानिसहरू जसले जीवनको ज्यादै उर्जाशील समय, जीवनका अनेकौँ खुसीहरू, व्यक्तिगत जीवनका अनेकौँ जिम्मेवारी र दायित्वलाई चटक्कै छाडेर आफूलाई क्रान्तिको रातो झण्डामुनि गोलबन्द गरेका थिए। क्षितिज पारिको त्यही सुन्दर सपना पूरा गर्नका निम्ति, उत्पीडित जनतालाई तमाम दुःखहरूबाट छुटकारा दिलाउनका निम्ति र स्वतन्त्रता, समानता र सम्मानपूर्ण जीवनको खोजीमा जसरी सँच्चा क्रान्तिकारीहरू आगो ओकल्न तयार थिए, ठिक त्यसै गरी २३ वर्षे जवानी बोकेर मेरो बुवाले पनि भूमिगत जिन्दगीको सुरुआत गर्नुभएको थियो।
गृहयुद्धको आगोले हजारौँ हजार घरहरूलाई जलाइरहेको थियो, लखेटिरहेको थियो। जिन्दगीका अनमोल रत्नहरू खरानीको थुप्रोमा परिणत हुँदै थिए। युद्धको त्यही आगोले एकदिन हाम्रो घरलाई पनि छोडेन। जतिबेला हाम्रो घरमा एउटा क्रान्तिकारी पिताको उदय भएको थियो, ठिक त्यति नै बेला मेरी आमाको भर्भराउँदो कोखले छोराको रुपमा मलाई जन्म दियो।
म जन्मेको ठिक एक वर्षपछाडि एउटा क्रुर समय पस्यो हाम्रो घरमा अन्धकार बोकेर। एउटा अन्धकार निस्सासिँदो रात खस्यो, हाम्रो जिन्दगीमा उज्यालो जति सबै लुटेर। राज्यको नजरमा एक राजद्रोहीको मृत्यु थियो बुवाको त्यो मृत्यु। तर हाम्रो परिवारको जीवनमा खुसीको मृत्यु थियो, हाम्रो भविष्यको मृत्यु थियो अनि हाम्रो सुन्दर सपनाको मृत्यु थियो।
हाम्रो जिन्दगीका सबै-सबै खुसीहरू बुवाको जलिरहेको लाससँगै जले र धुवाँ बनेर उडिरहे कहिल्यै नफर्कने गरी। अबोध अवस्थामै मेरो जिन्दगीबाट समयले जबर्जस्त खोसिदिएको थियो पिताजीको त्यो दिव्य अनि प्रिय काख कहिल्यै फिर्ता नदिने गरी।
जतिबेला म अबोध थिएँ, महसुस गर्न सक्दैनथेँ त्यतिबेला मेरो साथमा बुवा हुनुहुन्थ्यो। तर जतिबेला मैले बोध गर्न थालेँ, अनुभूति गर्न थालेँ, त्यतिबेला मैले मेरो बुवालाई गुमाइसकेको थिएँ। राष्ट्रको जीवनमा एउटा व्यक्तिको मृत्यु सामान्य हुन सक्छ, तर परिवारको जीवनमा एउटा व्यक्ति सर्वश्व हुन्छ। बुवाको त्यो सहादत हामी सन्तानको निम्ति संरक्षण र भरोसाको मृत्यु थियो। मेरी आमाको निम्ति त्यो मृत्यु खुसीको मृत्यु थियो। वृद्ध अभिभावकहरूको निम्ति काखको त्यो मृत्यु कहिल्यै नसुक्ने आँसुको भेल थियो।
आज जब म चुहिने झुपडीमा बसेर मेरी आमाका फुटेका कुर्कुच्चाहरू हेर्छु, जब म अभावले चिथोरेर कष्टको घनघोर अन्धकारमा बाँचिरहेकी मेरी मजदुर आमालाई देख्छु, जब म गाँस, बास र कपास लुटिएका सहिद परिवारका मलीन चेहराहरू देख्छु, जब म सहिदका सन्तानहरूका लागि शिक्षा प्राप्त गर्ने ढोकाहरूमा विवशताको ताल्चा लाएको देख्छु, जब म हरेक दिन भर्भराउँदा युवाहरूले पासपोर्ट बोकेर आफ्नो जमिन छोडिरहेको देख्छु, जब म युद्धमा हराएका आफ्ना अनमोल रत्नहरूको प्रतीक्षामा बसिरहेका बृद्धहरूका शोकपूर्ण आँखाहरू देख्छु, मलाई झल्झली याद आउँछ कथित क्रान्ति नायकहरूको त्यो वैभवपूर्ण जिन्दगी, आलिसान महल, चिल्ला कारहरूमा सुरक्षाकर्मीहरूको बीचमा हुने सवारीको त्यो दृश्य।
मनमा अनेकौँ प्रश्नहरूको बाढी चल्छ, के सहिदहरूको रगत यही र यस्तै परिवर्तनका लागि थियो? के हजारौँको बलिदानी सीमित व्यक्तिहरूको सुख र सुविधाको लागि थियो? सहिदको रगतले मागेको परिवर्तन खोई? मलाई थाहा छ हरेक देशको परिवर्तनको इतिहास वीरहरूको रगतले लेखिन्छ। सहिदको रगतबाटै लेखिन्छ कुनै पनि देशको गौरवपूर्ण इतिहास। तर मूल कुरा यो हो कि सहिदका हरेक बुँदहरूले न्याय पाउनुपर्छ। युद्धमा वीरगति पाउने हरेक योद्धाहरूको आत्माले शान्ति पाउनुपर्छ। उनीहरूको सहादतमा आधारभूत वर्गले राम्रो जिन्दगी पाउनुपर्छ। तब मात्र परिवर्तनको सार्थकता रहन्छ।
अचेल मेरा हरेक रातका सपनीमा सहिदहरू उदास अनुहारमा जुलुस बनेर आउँछन्। अशान्त आत्मा बोकेर शान्तिको लागि प्रार्थना गर्छन्। मातृभूमिको समृद्धिका लागि प्रार्थना गर्छन्, असहायहरूको दुःख निवारणका लागि प्रार्थना गर्छन् र आफ्नो भावनामाथि छुरा चलेकोमा गुनासो गर्छन्। सहिदका ती जायज प्रश्नहरूको अघि म नाजवाफ र लज्जित हुन्छु। राष्ट्रका निम्ति हाँसीहाँसी फासीमा चढ्ने, राष्ट्रका अघि आफ्नो जिन्दगीलाई तुच्छ ठानेर छातीमा गोली थाप्ने ती महान आत्माहरूको दर्शनले म भावविभोर हुन्छु तर मेरो देशको नेतृत्वले मलाई लज्जित बनाउँछ।
देशमा व्यवस्था बदलियो, संरचना बदलियो, मान्छेहरू बदलिए, संविधान फेरिए। फेरिए त केवल हिजो हजार सपना देखाएर, व्यक्तिगत जीवनका सम्पूर्ण कुराहरू मूल्यहीन ठान्दै क्रान्ति र परिवर्तनको गाथा गाएर नथाक्ने नेतृत्वका जीवनशैली फेरिए। भाकाहरू फेरिए, वाचाहरू फेरिए। नीतिहरू फेरिए। तर फेरिएका छैनन् दुःखीहरूका दुःखहरू।
दुःख उस्तै, सास्ती उस्तै, अन्धकार उस्तै, अभाव उस्तै र दुःखका सबै रंगहरू उस्तै छन्। युद्धका घाइतेहरूको घाउले औषधि पाएको छैन। शरीरमा गोली बोकेर बाँचेका घाइतेहरू उपचारको अभावमा छटपटाइरहेछन्। सिटामोल र जीवनजलको अभावमा जीवन गुमाउने मात्र हैन, पोषण तत्वको अभावमा समेत हजारौँ बालबालिका कुपोषणले अकालमै जीवन गुमाउँदै छन्।
विकट भूगोलहरूमा जनताहरू हप्तौँ दिन पैदल हिँडेर रासन किन्न पाउँदैनन्। रित्तै हात भोक बोकेरै घर फर्किन विवश छन्। बेरोजगारलाई रोजगार छैन, पीडितलाई न्याय छैन, घरबार विहीनलाई घर छैन, बिरामीलाई औषधि छैन, होनहार सम्भावना भएका युवाहरूको हातमा किताब छैन, गरिबी व्याप्त छ।
राज्य व्यवस्थाका धेरै चिज परिवर्तन भएर पनि आधारभूत वर्गको जीवन उस्तै छ, जस्तो हिजो थियो। राज्य व्यवस्था परिवर्तनको वास्तविक अनुभूति आधारभूत वर्गले गर्न पाउनु पर्छ। परिवर्तनको जमिनमा सिमान्तकृत वर्ग सानदार उभिन पाउनु पर्छ। तब मात्र परिवर्तनले सार्थकता पाउँछ। तब मात्र सहिदको आत्मालाई शान्ति मिल्न सक्छ।
म र मजस्ता हजारौँ सहिद परिवारका सन्तानहरूको प्रश्न छ सत्ताका नायकहरूसँग, सहिदको भावनालाई किन सत्तासँग साट्यौ? किन सहिदका सपनामाथि डोजर चलायौ? कहिले भत्किन्छ तिम्रो स्वार्थको पहाड?
रौतहट, चैत १९( रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको […]
काठमाडौं फागुन १९( व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका […]
काठमाडौं, फागुन ६– किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । […]