नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् । सडकखण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताउनुभयो ।
शुक्रबारसम्म टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । “अधिकांश पुलको निर्माण अन्तिम चरणमा छ”, इन्जिनियर दराईले भन्नुभयो, “कालोपत्र र मर्मतको काम सकिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउँछौँ ।”
दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ । खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुईन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो । आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ ।
“सम्भवत एक महिनाभित्र विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको छ, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भन्नुभयो, “बारुद राख्नका लागि नेपाली सेनाद्वारा बंकरको निर्माण गर्ने काम भइरहेको छ ।” यस सडकखण्डमा २०७६ चैतदेखि १५ पुल निर्माण थालिएका थिए । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएका हुन् ।
चितवन, मंसिर १४-
जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् ।
सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।” उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् ।
वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फकिएएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउछन्। बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए ।
उनले भने “अहिले सुन्तलाको मूल्य पाएको देखेर आफू सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।” अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त रहेको बताउछन् । गएका वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।
सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन्। उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।”
बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो । २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्तला बेच्दै आएका छन् ।
इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउछन् । उनले भने, “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।” केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए ।
यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ ।
चितवन,मंसिर १२-
नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर ६ गतेबाट सुरु गरिएको ‘चितवन नारायणी महोत्सव’ मा दिनहुँ राष्ट्रिय र स्थानीय कलाकारले कला प्रदर्शन गरिरहेका छन् ।
उनीहरुले आफ्नो कलासँगै दर्शकलाई दुव्र्यसनमा नफस्न र परिवारमा कोही त्यसतर्फ लागेको भए समयमा नै उपचार गर्न सुझाइरहेका छन् । महोत्सवमा शिव परियार, पशुपति शर्मा, आस्था राउत, शान्तिश्री परियार, ज्योति मगर, रमेश प्रसाइँलगायत कलाकारले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने काम गरिरहनुभएको छ ।
मङ्सिर १६ गतेसम्म सञ्चालन हुने महोत्सव सकिँदै गर्दा ६० जनाभन्दा बढी कलाकारले विभिन्न माध्यमबाट लागुऔषधविरुद्धको सन्देश प्रवाह गरिरहनुभएको छ । महोत्सवको मुख्य आयोजक दुब्र्यनीको उपचार गर्दै आएको रिकभरिङ युनाइटेट प्रालि र आयोजक औद्योगिक शान्ति नेपाल हो ।
महोत्सवको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्दै महोत्सवबाट बचेको पैसाले विपन्न परिवारका दुव्र्यसनको निःशुल्क उपचार गर्नु रहेको बताइएको छ । मुख्य आयोजक संस्था रिकभरिङ युनाइटेटका संस्थापक अध्यक्ष मनोज घिमिरे लागुऔषध दुव्र्यसन उपचारमा आउन चाहेर पनि पैसाको अभावमा नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले यस कार्यक्रममार्फत् लागुऔषधको लतमा नलाग्न जनचेतना जगाइरहेका छौंँ ।” महोत्सवबाट बचेको रकमले कम्तीमा ३५ जना विपन्न परिवारका दुर्व्यसनीको निःशुल्क उपचार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “महोत्सवमा रहेको स्टलमा दुव्र्यसनमा फसेका र तिनका परिवारका सदस्यसमेत आएका छन् । उनीहरुले कसरी यसबाट छुटकारा पाउने भन्नेमा बारेमा जानकारी लिएका छन् ।” विज्ञ र पुनःस्थापितले स्टलबाट परामर्श दिइरहनुभएको छ । आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको भए पनि यस प्रकारको पहिलो महोत्सव गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो महोत्सवको महत्वलाई बुझेर यही समयमा मकवानपुरमा अर्को मेलाको मिति पछाडि सारेर यहाँ आएको हुँ ।”
महोत्सवमा आउने अतिथि वक्तादेखि कलाकारसम्म सबैले सचेतना फैल्याउने काम गरिरहेको भन्दै उहाँले कुलतविरुद्ध महोत्सव महत्वपूर्ण रहेको बताउनुभयो । महोत्सव मूलआयोजक समितिका संयोजक पिङ्कलराज पन्त दैनिक पाँच हजारभन्दा बढी दर्शक आइरहेको भन्दै यो महोत्सवमार्फत् चितवनसहित देशैभरी प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताउनुभयो ।
पन्तले भन्नुभयो, “कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् पनि प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । यसबाट देश विदेशमासमेत लागुऔषधविरुद्ध सचेतना फैल्याउने काम भएको छ ।” महोत्सवमा एक सय ९६ वटा स्टल छन् । महोत्सवमा रु ६० लाख हाराहारी खर्च हुने आयोजकको अनुमान छ । प्रायोजक नराखी महोत्सव गरिएको भन्दै उहाँले स्टल भाडा र टिकटबाट उठेको रकमले महोत्सव सञ्चालन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “सबैको साथ र सहयोगका कारण यो जनचेतनामूलक महोत्सव सोचेभन्दा राम्रो सफलता मिलिरहेको छ ।” रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठ जिल्लामा १२ हजार हाराहारी सक्रिय लागुऔषध प्रयोगकर्ता रहेको बताउनुहुन्छ । उनीहरुको उपचारका लागि जिल्लामा २१ वटा पुनःस्थापना केन्द्र निजी क्षेत्रबाट सञ्चालित छन् ।
भरतपुर महानगरपालिकाभित्र मात्रै यो सङ्ख्या १५ छ । उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको उहाँले जानकारी दिनुभयो । आफूलाई अरु भन्दा फरक देखाउन सुरुवाती चरणमा लहैलहैमा यो लतमा फस्ने गरेको उहाँको भनाइ छ । आर्थिक सम्पन्न भएर परिवारबाट टढा रहेका, जीवन कुनै लक्ष्य प्राप्त गर्न नसकेका, निराशावादी सोच, असल अभिभावकको कमी जस्ता कारणले कुलतमा फस्ने गरेको श्रेष्ठ बताउनुहुन्छ । भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित महोत्सवले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस
कृष्ण आचार्य,
भरतपुर मङ्सिर ११-
तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । बीस वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–९ भानुचोकका मोहमद नबिहसन मियाँले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताउनुभयो । दैनिक सात÷आठ जनालाई स्वदेशमै रोजगार दिँदै उहाँले छ बिघा जग्गा भाडामा लिएर २० वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ । प्रतिकिलो रू ५० सम्ममा बेच्दै आएको काँक्रो एक्कासी भाउ घटेर प्रतिकिलो रू पाँच पुगेपछि टिप्नै छाडेको उहाँले बताउनुभयो ।
“१५/२० क्विन्टल काँक्रो बारीमै नटिपेर कुहिन सुरु गरेको छ”, मियाँले भन्नुभयो, “बजारको कुनै टुङ्गो नै छैन ।” मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत हुँदैन र किसान घाटामा पर्छन् । भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको उहाँको भनाइ थियो । “मान्छेले सबैभन्दा सजिलो तरकारीखेती हो भने पनि खेती गर्दाको लगानी, दुःख, कठिनाइ धेरै हुने गर्छ । जुन अरु खेतीमा छैन”, मियाँले भन्नुभयो । उहाँले बारीमा लगाएको काउलीको मूल्य रू १० प्रतिकिलो पनि नपाएकाले काट्न ढिला हुँदा काउली बारीमै कुहिन थालेको बताउनुभयो । “उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो रू ३० सम्म पर्न गए पनि हामीले बजार पाएको छैनौँ । हामीले बेच्दा घाटा खाएर बेच्नुपरेको छ”, मियाँले भन्नुभयो, “किसानले प्रतिकेजी मूल्य रू २० मात्रै पाउने हो भने पनि लगानी उठ्न सक्छ र बारीमा तरकारी पनि कुहिँदैन ।”
सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समयसमयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका मियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी खेतीमा निकै समस्या छ । जग्गाको भाडा बुझाउन नसक्दा जग्गासमेत छाड्नुपर्ने बाध्यता छ ।”पश्चिम चितवनस्थित अृमतनगरका हेमराज आचार्यले आफ्नो बारीमा उत्पादन भएका काँक्रा, फर्सी, सिमी र मूला बिक्री नभएको बताउनुभयो । “एक बिघामा काँक्रा र फर्सी उत्पादन गरेको छु । अहिले रू पाँच प्रतिकिलोमा पनि बिक्दैन”, उहाँले भन्नुभयो, “उत्पादन गरेर बारीमा नै कुँहाएर फाल्नुपर्छ ।” उहाँले व्यावसायिकरुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो । जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गर्नुभएको छ । यस वर्ष फर्सी नबिकेर लगानी पूरै खेर गएको उहाँले बताउनुभयो ।
“दश कट्ठामा लगाएको फर्सी खेतीका लागि रू ६० हजार लगानी भएको थियो । यस वर्ष उत्पादन पनि राम्रो छ । उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्”, आचार्यले भन्नुभयो, “फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा, जे लगाए पनि घाटा, अब विदेश जानुपर्ने अवस्था आएको छ ।” फर्सीको प्याकेजिङ गर्दामात्रै प्रतिकेजी रू १० लागत लाग्ने गरेको उहाँले बताउनुभयो । दसैमा काँक्राको मूल्य राम्रै थियो । त्यसपछि ओरालो लागेको काँक्रो अहिले रू चारमा झरेको भन्दै यसले किसानको लगानी नउठ्ने आचार्यले दुखेसो पोख्नुभयो । उहाँको दश कट्ठाको बारीमा काँक्रा छ । तरकारीको बिक्रीले नै घरखर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन् ।
भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्नुहुन्छ । यतिखेर काँक्रो, फर्सी, मूला, क्यापसिकन, सिमी निस्किएका छन् । बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उहाँले बताउनुभयो । “सिमी रू १० केजीमा पनि लैजान कठिन छ । त्यो टिप्ने बेलाका खेतलाको खर्च पनि उठ्दैन । काँक्रा र फर्सी त रू पाँचमा पनि बिक्री हुँदैन”, रानाभाटले भन्नुभयो, “बारीमा उत्पादन भएका वस्तु बारीमै कुहिन नदेऊ, पैसाको हिसाबपछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिउजिउ गर्दा पनि व्यापारीले लिदैनन् ।” फर्सी एक दिनपछि टिप्ने हुने भन्दै एकपटकमा २५ क्विन्टल उत्पादन हुने उहाँले बताउनुभयो ।
रानाभाटले दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुने भन्दै बजार मूल्य नपाउँदा सबै खेर गइरहेको बताउनुभयो । बुवाको प्रेरणाले विसं २०६५ देखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएका रानाभाट खेतलाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ । यहाँ उत्पादन भएको तरकारीले काठमाडौँ, पोखरा, हेटौँडा, बुटवल, नेपालगञ्जलगायतका बजार जाने गर्दछन् । यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली र बन्दा उत्पादन गरेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन नसक्दा चिन्तित बनेका छन् ।
काँक्रो, फर्सी, मूला, सिमीलगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भुसालले बताउनुभयो । “पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्रसमेत बनाइएको छ । यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ । अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गइरहेको छ ।”पाँच टनको हाराहारीमा रू पाँच प्रतिकेजीमा व्यापारीले फर्सी उठाएको भुसालले जानकारी दिनुभयो । रू पाँचमा बेच्दा किसानलाई प्रतिकेजी रू तीनभन्दा बढी घाटा लाग्ने उहाँको भनाइ छ । किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन् । रासस
काठमाडौँ, मंसिर ११-
काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा काठमाडौँ महानगरपालिकाले उक्त ट्राफिक लाइट प्रविधि जडान गरेको हो ।
पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने र बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको काठमाडौँ महानगरपालिका ट्राफिक विज्ञ जगत्मान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो लाइट थिच्दा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्छ ।
एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनःबटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रातो बत्ती बलेपछि सवारीसाधन रोकिन्छन् र यात्रुले बाटो काट्ने छन् ।
काठमाडौँ महानगरपालिकाले बबरमहलमा रहेको जेब्राक्रसको छेउको खम्बामा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरेको छ । यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि पनि जडान गरिएकामा मर्मतसम्भार नगरिँदा दिगो हुन नसकेको महानगर कार्यालयले जनाएको छ ।
बबरमहल क्षेत्रमा बाटो काट्ने पैदलयात्रुको सङ्ख्या अत्यधिक हुने र दुर्घटनाको जोखिम देखिएकाले सुरुमा यो क्षेत्र रोजिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो । “यो कामपाद्वारा आमनागरिकका लागि राखिएको ट्राफिक लाइट हो । यो उपयुक्त छ र यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ । प्रयोग गर्न जान्दा यसले सूचना देखाउँछ । यसलाई ख्याल गरेर बाटो काट्नुपर्छ”, उहाँले भन्नुभयो । रासस
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा अन्तराष्ट्रिय स्तरको फिल्म फेष्टिबल हुने भएको छ । क्याराभान नेपालको आयोजनामा यही मंसिर २९ गते देखि पुस ३ गते सम्म सौराहा साउथ एशियन फिल्म फेष्टिवल हुने भएको हो । चलचित्रको माध्यमबाट सौराहा सहित नेपालको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको हो । फेष्टिबल चित्रसारी पुल नजिक रहेको खालीचौरमा हुने छ । आयोजनकले सोमबार रत्ननगर नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । चलचित्र र पर्यटन उद्योगको विकास गर्ने उद्देश्यले सरकारसंगको सहकार्यमा फेष्टिबल आयोजना गरिएको क्याराभान नेपालका अध्यक्ष तथा फेष्टिबल संयोजक विमल पौडेलले जानकारी दिए । सौराहामा पहिलो पटक फिल्म फेष्टिवल हुँदैछ । यसमा स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिका सहित व्यवसायीहरुले समेत साथ दिएको उनले बताए । फेष्टिवलमा नेपाल सहित ८ वटा देशका उत्कृष्ट फिल्महरुको प्रर्दशन र तथा अन्र्तक्रिया समेत गरिने छ । पाँच दिन सम्म चल्ने फेष्टिबलमा अन्य देशका फिल्म निर्माता,कलाकार र नेपालका फिल्म निर्माण र कलाकारहरुको बीचमा अनुभव आदानप्रदान समेत गरिने संयोजक पौडेलले बताए । नेपालको चिलचित्र उद्योगलाई माथी उठाउन गर्नुपर्ने अबको प्रयासका बारेमा निर्माणता र कलाकारहरुको बीचमा अन्तरसंवाद समेत गरिने छ । महोत्सव अन्तर्गत तीन दिन चलचित्र र पर्यटनको विकासबारे विज्ञहरु सहितको अन्र्तक्रिया कार्यक्रम हुने छ । सम्मेलनमा ८ राष्ट्रका सेलिब्रेटी कलाकार समेत आउने छ । फेष्टिबल अन्तर्गत नेतृत्व तहमा रहेका व्यक्तिहरु र कलाकार तथा पूर्वी चितवन र पश्चिम चितववनका युवाहरु बीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता आयोजना गरिएको संयोजक पौडेलले जानकारी दिए । १०० बढी स्टल रहने सो फेष्टिवलमा स्थानीय खानाका परिकारसंगै हस्तकलाका सामाग्री, स्थानीय उत्पादनसंग सम्बन्धित तथा चलचित्र विकास बोर्ड तथा अन्य सिनेमा सम्बन्धी संघसंस्थाहरुको जानकारी मुलक स्टलहरु रहने छ । रेवान सौराहाका पूर्व अध्यक्ष तथा फेष्टिवलका सहयोजक गोकर्ण गिरीले कोरोना र आर्थिक मन्दीले थला परेको सौराहा सहित मुलुकको पर्यटनको विकास गर्ने उद्देश्यले फेष्टिबल आयोजना गरिएको बताए । चलचित्रको माध्यमबाट पर्यटनको विकास सम्भवन रहेको भन्दै उनले साउथ एशियन फिल्म फेष्टिवलले सौराहाको मात्र नभइ मुलुककै पर्यटन विकासमा सहयोग पुग्ने उनले बताए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेष्टिबलमा चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले समेत सहयोग गरेका छन् । स्थानीय स्तरमा रत्ननगर उद्योग बाणिज्य संघ,क्षेत्रीय होटल संघ, रेवान सौराहा,साना पर्यटन व्यवसायी समुह,युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था,राष्ट्रिय चलचित्र कलाकार संघको सहकार्य रहेको छ । फेष्टिवल सम्पन्न गर्न ८० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । रत्ननगरका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यको सहभागिता रहेको सो पत्रकार सम्मेलनका चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले समेत धारणा राखेका थिए ।
चितवन, मङ्सिर २-
वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गरी १० दिनभित्र प्रतिवेदन बुझाउने गरी शुक्रबार समिति बनाएको हो । समितिमा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सेनानी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक, राष्ट्रिय निकुञ्ज विभागका कानुन अधिकृत र अनुसन्धान अधिकृत हुनुहुन्छ ।
उपमहानिर्देशक ढकालले आइतबार चितवन आएर स्थलगतरूपमा काम सुरु गर्ने बताउनुभयो । घटनास्थलको अध्ययन र सरोकारवालासँग छलफल गरी घटनाबारे वस्तुस्थिति हेरिने उहाँले बताउनुभयो । आवश्यक प्रमाण सङ्कलन गरी भएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयसमेत समावेश गरी प्रतिवेदन तयार गरिने छ ।
राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे गैँडा तस्करले धरापमा पारेर मारेपछि छानविन गर्न समिति गठन गरिएको हो । गत बिहीबार गैँडा मृतावस्थामा भेटिएका थिए । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको वडेला खोला नजिकै छ र १८ वर्ष उमेरका पोथी गैँडा मारिएको अवस्थामा फेला पारिएका थिए । छ वर्षे गैँडा तीन दिन र १८ वर्षे गैँडा मारिएको १० दिन पछाडि फेला पारिएको अनुमान गरिएको छ ।
उक्त घटना सार्वजनिक भएसँगै सत्यतथ्य छानविनको माग गरिएको थियो । नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरी घटनाको छानविन गर्न माग गरेको थियो । संरक्षण क्षेत्रमा लागेका व्यक्तिले पनि चिन्ता व्यक्त गर्दै छानविनको माग गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा र नेपालभर सात सय ५२ गैँडा छन् ।
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दू बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् । काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।
बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।
एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् । यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् ।
बलिङतर्फ नेपालकी अश्मिना कर्माचार्यले चार, सङ्गिता राईले तीन तथा पूजा महतो दुई विकेट लिइन् ।
नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।
महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ ।
चितवन, कात्तिक १३–
चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता गरेपछि वडाबासीले निःशुल्क रगत पाउने सुनिश्चित भएको हो ।
निःशुल्क रगतको लागि एक औपचारिक कार्यक्रमकाबीच वडा अध्यक्ष विष्णुराज महतो र सचिव रामकृष्ण पाण्डे, रेडक्रस जिल्ला शाखाका तर्फबाट सभापति हरिप्रसाद पौडेल, मन्त्री राममणी खनाल र प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार रक्तसन्चार केन्द्रले भरतपुर–२२ का वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने छ भने वडा कार्यालयले त्यसको भुक्तानी मासिक रूपमा उपलब्ध गराउने छ । सम्झौता अनुसार उक्त योजनाको अवधि ३ वर्षको हुने उल्लेख छ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । साथै सम्झौता पत्रमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट प्रती युनिट १,३६० हुने उल्लेख समेत गरिएको छ ।
पालिकास्तरमा जिल्लाका अन्यत्र केही पालिकाले यो अभियानको सुरुवात गरेको भएपनि वडास्तरमा भरतपुर महानगरपालिका र चितवन जिल्लाकै पहिलो वडा भरतपुर–२२ भएकोमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवनका कार्यसमिति सदस्य कुमारप्रसाद थपालियाले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सुर्य बहादुर गुरुङ, दिपक पौडेल, जिल्लाका रेडक्रसकर्मी लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं, कात्तिक १३-
गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।
अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १ हजार ४०० बढीको मृत्यु भएको छ ।
इजरायल–हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।
इजरायलले गाजाको अल–कुद्स अस्पताल पनि खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।