Listen Live: 

रत्ननगर नगरपालिकाको दुई विधेयक र एक प्रतिवेदन पारित : क्यान्सरपीडितलाई २५ हजार रुपैयाँ दिने निर्णय

Radio Chitwan
शुक्रबार, चैत्र ३०, २०८०

रत्ननगर । रत्ननगर नगरपालिकाले नगरसभाको विशेष अधिवेशनले दुई विधेयक र एक प्रतिवेदन पारित गरेको छ ।

नगरप्रमुख प्रलाद सापकोटाको सभाध्यक्षतामा बसेको नगरसभाको विशेष अधिवेशनले रत्ननगर नगरपालिकाको सार्वजनिक निजी साझेदारी विधेयक–२०८०, रत्ननगर नगरपालिकाको नगरप्रहरी सेवा सञ्चालन विधेयक–२०८० र नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८० पारित गरेको हो ।

सुशासन समितिका संयोजक कलाधर पौडेलले ‘रत्ननगर नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८०’ प्रस्तुत गरेकोमा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले शिक्षा शाखामा कर्मचारी अभावले विद्यालय अनुगमनलगायतका कार्यमा असुविधा भएको र शिक्षा शाखा र महिला बालबालिका शाखामा कर्मचारीको दरबन्दी हेरफेर गर्न सुझाव दिँदै प्रतिवेदनमाथि पुनर्विचार गरियोस् भन्ने सुझाव पेस गरेका थिए ।

यस्तै, नगरसभा सदस्य गोमा भण्डारीले बालमैत्री पालिका घोषणा भइसकेपछि पनि बालश्रम गरी हिँडेको पाइएकोले नगरसभाको ध्यानाकर्षण गराएकी थिइन् । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाका लागि साँघुरो घेरामा राखिएकाले ज्येष्ठ नागरिक र एकल महिलाको विभाग छुट्टै राख्नुपर्ने धारणा राखिन् ।
चापागाईं र भण्डारीले उठाएका सुझावउपर ‘रत्ननगर नगरपालिकाको संगठन तथा व्यवस्थापन संरक्षण प्रतिवेदन–२०८०’ संशोधनसहित पारित भएको छ ।

यसैगरी, सुशासन समितिका संयोजक कलाधर पौडेलले प्रस्तुत गरेको ‘रत्ननगर नगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन–२०८०’ को समर्थन गर्दै कार्यपालिका सदस्य राजेन्द्र हमालले नगरपालिकाले अपनत्व लिनेगरी नगरभित्रका पार्क, सांस्कृतिक स्थल, सम्पदा संरक्षण र जैविक विविधताका लागि सार्वजनिक निजी साझेदारी ऐन प्रभावकारी हुने धारणा व्यक्त गरे । सो विधेयक सर्वसम्मतले पारित भएको छ ।

यस्तै, पूर्वाधार विकास समितिका संयोजक अनन्त अधिकारीले प्रस्तुत गरेको ‘रत्ननगर नगरपालिकाको नगरप्रहरी सेवा सञ्चालन विधेयक–२०८०’ माथि कार्यपालिका सदस्यहरु हेमराज थापा, आशिक तामाङ र वीरेन्द्र महतोले आ–आफ्ना धारणा राखेका थिए । सो विधेयक नगरसभाको विशेष अधिवेशनबाट बहुमतले पारित भएको छ ।

सभामा सभाअध्यक्ष नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर नगरपालिकामा पनि नसर्ने रोगको समस्या जटिल बन्दै गएकाले क्यान्सरपीडितहरुका लागि २०८१ वैशाख १ गतेदेखि नै लागू हुनेगरी २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौतागरी क्यान्सरको उपचारका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने बताए ।

केन्द्र सरकारले क्यान्सर रोगको उपचारका लागि एक लाख रुपैयाँ दिने व्यवस्था गरेकोमा बागमती प्रदेश सरकारबाट पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले ५० हजार रुपैयाँ थप गर्ने निर्णय प्रदेश सरकारबाट पारित गराएका थिए । क्यान्सर रोगको उपचार महङ्गो हुने भएकाले स्थानीय सरकारबाट पनि नगरवासीमा सहयोगको अनुभूति होस् भनेर २५ हजार रुपैयाँ उपचार खर्चको व्यवस्था गरिएको उनले जानकारी दिए ।

स्थानीय सरकारले २५ हजार रुपैयाँ उपचारमा थप गरेसँगै अब क्यान्सर रोगका बिरामीले एक लाख ७५ हजार रुपैयाँ पाउने छन् ।

रत्ननगर नगरपालिकामा २०७ जना क्यान्सरपीडित रहेका छन् । उनीहरुलाई औषधि खर्चबापत मासिक ५ हजार रुपैयाँ भत्ता प्रदान गरिँदै आएको छ । यस्तै, सुविधा प्राप्त गर्नेमा मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिसको उपचार गराइरहेका र मेरुदण्ड पक्षघातका बिरामी रहेका छन् ।

सभामा उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, कार्यपालिका सदस्यहरु एवं विभिन्न विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram