Listen Live: 

कुन् कुन छन् भरतपुरमा घुम्न लायक पर्यटकीय गन्तव्यहरु ? के छन् विशेषता ?

Radio Chitwan
मङ्लबार, फाल्गुन १५, २०८०

चितवन, फागुन १५-

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन फागनु १८ गते नारायणी नदी किनारमा हुँदैछ ।महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्न भ्रमण वर्ष मनाउन लागिएको हो ।

भरतपुरमा पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने भ्रमण वर्षको अन्य उद्देश्यहरु छन् । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज तथा नारायणी र राप्ती नदीले घेरिएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य भरतपुर हो । महानगरपालिका विविध सम्पदाहरूले भरिपूर्ण छ । भ्रमण वर्षमा करिब दुई लाख बाह्य तथा पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने महानगरले लक्ष्य लिएको छ ।

पर्यटकले भरतपुर भ्रमण गरेर यहाँका पर्यटकीय क्षेत्रहरुको अवलोकन, यहाँका सम्भावनाहरुको पहिचान, तथा बद्लिएको भरतपुरको प्रत्यक्ष अनुभूति गर्ने अपेक्षा महानगरले लिएको छ । साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरू यस प्रकार छन् ।

१.मेघौली

चितवन राष्ट्रिय निकुञ्ज र दुई ठुला नदी राप्ती तथा नारायणी दुईतिरबाट घेरिएको सुन्दर पर्यटकीय नगरी मेघौली नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरुवात गर्ने टाइगर टप्स जङ्गल लजको प्रवेशद्वार हो । भरतपुर चौबीसकोठीदेखि २५ किमी. पश्चिमतर्फ वडा नं. २७ मा पर्ने मेघौली पर्यापर्यटन विकासको महत्वपूर्ण गन्तव्य हो । चार वटा सामुदायिक वनमा पाइने दुर्लभ बाघ, गैँडा तथा चराचुरुङ्गी, निर्माणाधीन राइनोपार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्तीसयर, डुंगाा सयर, मचान स्टे, जंगलवाक, जिप सफारीलगायत यस क्षेत्रका प्रमुख आकर्षण तथा पर्यटकीय क्रियाकलाप हुन् । हवाइमार्ग, स्थलमार्ग तथा जलमार्गबाट सजिलै पुग्न सकिने मनोरम पर्यटकीय स्थल मेघौली सर्वप्रथम हात्तीपोलो खेलिने स्थानको रूपमा संसारभरि नै परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज, गोलाघाट, भोजबाबा आदि नजिकैका महत्वपूर्ण गन्तव्यहरू हुन् । समुद्री सतहदेखि २२५ मिटर उचाइमा अवस्थित उच्च मनसुनी हावापानी रहेको मेघौलीमा होमस्टेदेखि सुविधा सम्पन्न आरामदायी होटलको व्यवस्था छ ।

२.पटिहानी

भरतपुर–कसरा मार्गमा वडा नं २२ स्थित कमलपोखरीमा तैरिएका विभिन्न प्रजातिका मनमोहक कमलका फूलहरूले पर्यटकलाई भरपुर आनन्द प्रदान गर्दछन् । गोही प्रजनन् केन्द्र कसरा, विक्रमबाबा, निकुञ्ज, सामुदायिक वनहरू यसका नजिकै रहेका आकर्षण हुन् । सुविधासम्पन्न होटल स्थापना भएको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक तथा सांस्कृतिक आनन्द प्राप्त गर्न सक्दछन् । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत पटिहानी पर्यटन क्षेत्रमा निर्मित अम्ब्रेला टावर मानवनिर्मित थप आकर्षण भएको छ । निर्माणाधीन अम्ब्रेला स्ट्रिट अन्तर्गत करिब ४५० ओटा फाइवरका छातामुनिबाट १२० मिटर पैदल यात्रा गर्दा पर्यटकहरूले फरक अनुभूति प्राप्त गर्दछन् । भ्युप्वाइन्ट, सेल्फीगेट, रेस्टुरेण्ट, शौचालय, पार्किङ्ग, आवासलगायतका सेवाहरू उपलब्ध यस गन्तव्यमा पर्यटकहरूले प्राकृतिक वातावरणमा मनोरम आनन्द प्राप्त गर्दछन् ।

३.देवघाटधाम


भरतपुरदेखि ६ कि.मी. उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटधाम धार्मिक महिमा बोकेको पवित्र स्थल हो । समुद्री सतहबाट २०० मिटरदेखि ५७५ मिटरसम्मको उचाइमा अवस्थित देवघाटलाई शान्ति र आध्यात्मिक उन्नयनको उत्कृष्ट क्षेत्र मानिन्छ । चितवन र तनहूँ जिल्लातर्फ गलेश्वर आश्रम, चक्रेश्वर शिला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्न्यास आश्रम, राम मन्दिर, यज्ञशाला, कठस्तूप, सिद्घि गणेश, गोपीधाम, सूर्यकुण्ड, पशुपतिनाथ जस्ता धार्मिक स्थलहरू छन् । वशिष्ठ ऋषि, राजा मणि मुकुन्द सेन, प्रताप शाह, लेखनाथ पौड्याल, सिद्ध गलेश्वरबाबा जस्ता हस्तीहरूले जपतप गरी सिद्धि प्राप्त गरेको यस पुण्यभूमिको बारेमा हिमवत्खण्ड नेपाल माहात्म्यमा महादेव शंकर आफ्ना गणहरूका साथ यसै क्षेत्र बसेको कुरा उल्लेख छ ।

४.ज्ञानेश्वर ब्लक

ज्ञानेश्वर, सेतीदेवी, मझुवा र सिद्धिगणेश गरी ४ वटा सामुदायिक वन रहेको ज्ञानेश्वर ब्लक भरतपुरदेखि १० किमी. पश्चिममा अवस्थित छ । नारायणगढबाट १ घण्टामा डुंगा सयर गरेर पुग्न सकिने रमणीय क्षेत्र ज्ञानेश्वर ब्लक नारायणी नदीको किनारमा स्वच्छ एवम् शान्त रूपमा पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै बसेको छ । ¥याफ्टिङ्ग, जङ्गल वाक, जिप ड्राइभ, मचान स्टे, पिकनिक स्पोट, वन्यजन्तु उद्धार केन्द्रमा संरक्षित मृग, अजिङ्गर, दुम्सी, बाँदर, गिनिपिग, अस्ट्रिज, लाटोकोसेरोसहितको सानो चिडियाखाना तथा स्थानीय संस्कृति अवलोकन यहाँका मुख्य पर्यटकीय ंआकर्षण हुन् । दुर्लभ एकसिङ्गे गैँडा, हरिण, मयुर, गिद्ध आदि विभिन्न प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन गर्न सकिने यो क्षेत्र खुला चिडियाखानाको रूपमा विकास भइरहेको छ । यसैगरी निकटमै रहेको तीर्थस्थल शिवघाटमा रहेको शिव मन्दिर पाल्पाली राजा मुकुन्दसेन प्रथमले स्थापना गरेका थिए जहाँ पशुपतिनाथ, महादेव, सीतारामलगायत मन्दिर रहेका छन् । यहाँ महाशिवरात्रीमा भक्तजनको विशेष घुइँचो लाग्दछ ।

५.बीसहजार ताल

भरतपुर चौबीसकोठीबाट गोन्द्राङ हुँदै ९ कि.मी. पूर्व­दक्षिणमा अवस्थित बीसहजार ताल पूर्वी चितवनबाट ल्याएको नहरको कारण निर्माण भएको हो । बाँधबाट बीसहजार फुट टाढा धेरैवटा तालहरू बनेकोले यसको बीसहजार ताल नामकरण गरिएको हो । विश्व सिमसार क्षेत्रमा सूचीकृत यो क्षेत्र जैविक विविधताले सम्पन्न छ । सौराहाको टिकौली सामुदायिक वनबाट जिप सफारी होस् वा वरण्डाभार मध्यवर्ती वनको हात्तीसयर, दुर्लभ वन्यजन्तु, बाघ, गैँडा, मृग, गोही र घुमन्ते चराहरू अवलोकन गर्न बीसहजार ताल क्षेत्र आकर्षण गन्तव्यको रूपमा परिचित छ । वन्यजन्तु कोरीडोर अन्तर्गत बरण्डाभार क्षेत्रमा पर्ने बीसहजार ताल क्षेत्र साल प्रजातिका विशाल वृक्षहरूका लागि प्रख्यात छ । चारभाइ साल, बेतघारी फरक फरक आकृतिका तालहरू, विभिन्न प्रजातिका वनस्पति, पुतली तथा माछाहरू, मगर गोही, घडियाल गोही, चराचुरुङ्गी आदि यहाँका आकर्षण हुन् । पर्यटक विश्राम स्थल, टावर, खानेपानी, शौचालय, सूचना केन्द्र निर्माण भैसकेको यस क्षेत्रमा सत्रहजार तालदेखि वाइसहजार ताल, रातमाटेताल, अठ्ठाइसहजारताल, मयुरताल, किङ्गफिसर ताल, दक्षिणकाली ताल, लक्ष्मीताल, बाटुली पोखरीसम्मको लेकसाइड सर्किट अवलोकन, जङ्गल वाक, बोटिङ्ग, जिप सफारी, गाउँ भ्रमण तथा जातीय संस्कृति अवलोकन गर्न सकिन्छ ।

६.नारायणी बिच क्षेत्र

नारायणी पुलदेखि गौरेश्वर मन्दिरसम्मको धार्मिक क्षेत्र, जोर कुसुम, नारायणी नदी तथा बालुवामा हुने समुद्री खेलहरू, दियालो बंगाला, महोत्सव स्थल यहाँका थप आकर्षण हुन् । महानगरद्वारा प्रस्तावित वाटर पार्कसहितको नारायणी बिच मोडलले मनोरञ्जनतर्फ उन्मुख पर्यटनका पारखीहरूलाई भरपुर आनन्द दिन्छ । भरतपुर महानगरपालिका वडा नं. ३ कार्यालय नजिक निर्माण गरिएको सस्पेन्सन ब्रिज, आइलैण्ड, पिकनिक स्पोट, गँैडा, हरिणलगायत विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गी अवलोकन, बोटिङ यहाँका प्रमुख आर्कषण हुन् । काठमाडाँै–पोखरादेखि हवाइमार्ग, मुग्लिङ वा त्रिवेणीधामदेखि जलमार्ग तथा सडकमार्गबाट सहजै पहुँच भएको यस क्षेत्रमा घुम्न आउने पर्यटकहरूलाई बसोबासका लागि भरतपुर तथा नारायणगढ बजारमा पर्याप्त आरामदायी होटलहरू रहेका छन् ।

७.चौकीडाँडा \कविलासगढी


भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमिटर पूर्वमा रहको भोर्लेबाट करिब आधा घण्टा उकालोको पैदल यात्रापछि समुद्री सतहबाट एक हजार १०० मिटरको उचाइमा रहेको चौकीडाँडा पुग्न सकिन्छ । साथै पात्लेबास हुँदै पदमार्गको मध्यमबाट चौकीडाँडा पुग्न सकिन्छ । यो मार्गबाट ६ किलोमिटर छ । यो महानगरपालिकाको २९ औँ वडा हो । भरतपुर महानगरको २९ वडा यस्तो ठाँउ हो जहाँ लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्ने गर्दछन्। महानरपालिकाले चौकी डाँडालाई हिल स्टेशनको रुपमा प्रवद्र्धन गर्दैछ । राजसी हिमाली श्रंखलाका मनोरम चुचुराहरु, नारायणी नदीको घुमाउरो नागबेली र समथल मैदान हेर्ने स्थलको रुपमा चौकीडाँडा विकास भएको छ । यसै वर्षदेखि चौकी डाँडामा साहसी खेल प्यारा ग्लाइडिङको सुरुवात पनि गरिएको छ । यस साहासिक खेलको माध्यमले पनि यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । भरतपुर महानगरपालिकाको ऐतिहासिक स्थल कविलासगढी चौकीडाँडाबाट पश्चिमतर्फ २ दशमलब ५ किलोमिटर दूरीमा पर्छ । कविलासगढीबाट सुन्दर र मनोरम स्थल दृश्यको रुपमा भरतपुर बजार क्षेत्रलाई अवलोकन गर्न सकिन्छ । यो ठाँउ गुरुङ जातिको घाटु नाँचको लागि प्रख्यात छ । लोप उन्मुख चेपाङ जातिको बासस्थन रहेको यस ठाँउमा चेपाङ संस्कृति पनि हेर्न सकिन्छ।
यस्तै महानगरपालिकामा प्रमुख पर्यटकीय गन्तव्यसँगै अन्य गन्तव्यहरु जगतपुर, राइनोकुञ्ज, बाटुली पोखरी, कसरा, गोलाघाट, बागेश्वरी रहेका छन् । त्यस्तै महानगरले भरतपुर ११को गणेशधाम, बीपी. शान्ति नगर वन, गाँजीपुर, सिमरी टाउन, महाबौद्ध गुम्बा, राइनो ताल, धनगढा मन्दिर, चितवन प्रदर्शनी केन्द्र, बखान बहुउद्देश्य सहकारी संस्था, रानी पोखरी, प्राङ्गारिक कृषि उत्पादन सहकारी संस्था, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र रहेको छ ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram