Listen Live: 

नारायणगढ-मुग्लिनको वैकल्पिक सडकः शक्तिखोर–फिस्लिङ अन्तिम चरणमा

Radio Chitwan
मङ्लबार, असार १९, २०८०

असार महिना लागेपछि पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक अवरुद्ध हुँदै आएको छ । घन्टौँसम्म सडक सञ्चालन नहुँदा हजारौँ यात्रु सास्ती खेप्न बाध्य भएका छन् । कतिपय यात्रु त अत्यावश्यक काम हुँदा पनि पहिराका कारण गन्तव्यमा पुग्न सक्दैनन् । यो सडकखण्डमा यस वर्षमात्र होइन, प्रत्येक वर्ष पहिराले दुःख दिने गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सास्तीले यो सडकखण्डको वैकल्पिक राजमार्ग बनाउनुपर्छ भन्ने कुरा पटक–पटक उठ्ने गरेको छ ।

यो राजमार्गको विकल्पका रूपमा चितवनमै अर्को पनि सडक छ । त्यो सडक हो– शक्तिखोर–फिस्लिङ ग्रामीण सडक । यो सडकखण्डको अधिकांश काम सकिएको छ । साना सवारी र मोटरसाइकलमा यो सडकखण्ड हुँदै यात्रा गर्न सकिन्छ । तर यो सडकखण्डको काम पूर्ण नहुँदा र नागरिकलाई पर्याप्त जानकारी नहुँदा वैकल्पिक सडकको रूपमा प्रयोगमा आउन सकेको छैन ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट शक्तिखोरसम्मको ४५ किलोमिटरको दूरी रहेको यो सडक ‘सिङ्गल लेन’को हो । नारायणगढ– मुग्लिन सडकखण्डमा बारम्बार सास्ती ब्यहोरेका यात्रुले फिस्लिङ–शक्तिखोर सडकलाई विकल्पका रूपमा पनि प्रयोग गर्न सक्ने इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । उहाँले यो सडक पूर्णरूपमा निर्माण सम्पन्न भएपछि इच्छाकामना गाउँपालिकाको विकासको ढोका खुल्ने बताउनुभयो । अहिले पनि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो गएको समयमा कतिपय यात्रुले यो सडकखण्ड प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

इच्छाकामना गाउँपालिका–३ का अध्यक्ष नरबहादुर नेपालले रिग्दीखोलामा पुल निर्माण नभएका कारण यो सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । “प्रदेश सरकारबाट पुल निर्माणको काम त सुरु भएको छ, तर निर्माण सम्पन्न भएपछि मात्र सहजरूपमा यात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो । तोलाङको भिरमा पहिरो गएका कारण बोलेरो गाडी मात्र छिर्न सक्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । यो सडकले फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर जोड्छ ।

प्राविधिक समस्याका कारण चार ठाउँमा सडक कालोपत्र नगरिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर राकेश रोशनले जानकारी दिनुभयो । उहाँले केही खोल्सा र खोलामा पुल निर्माणको काम बाँकी रहेको भन्दै त्यो प्रदेश सरकारबाट निर्माण भइरहेको जानकारी दिनुभयो ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत एसियाली विकास बैंकको अनुदानमा रु ८७ करोडको लागतमा ठेक्का सम्झौता भएको सडकको समयमै काम सम्पन्न नगरेका कारण निर्माण कम्पनीलाई क्षतिपूर्ति तिराउने तयारी गरिएको इन्जिनियर रोशनले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी काम सम्पन्न गर्ने दायित्व पनि यही निर्माण कम्पनीको हो । यो वर्ष जसरी पनि काम सक्न भनेका छौँ”, पाँच–छ महिनामै यो सडकखण्डको २५ किलोमिटर क्षेत्रमा कालोपत्र भएको भन्दै उहाँले चाहेको खण्डमा एक–दुई महिनाभित्र निर्माण कम्पनीले काम गर्न सक्ने बताउनुभयो ।

विसं २०७५ देखि निर्माण सुरु भएको यो सडकखण्डको पाँचपटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको हो । अन्तिमपटक चैतसम्म म्याद थियो । तीन वर्षसम्म यही निर्माण कम्पनीले सडक मर्मतको काम गर्नुपर्ने इन्जिनियर रोशनले बताउनुभयो । केही वर्ष पहिले आरआरएनले रु १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो । चार दशमलव पाँच मिटर चौडाइको यो सडक अहिलेसम्म ३० किमीमात्रै कालोपत्र भएको छ ।

यो सडक निर्माणको जिम्मा साङछी एन्ड आशिष जेभीले पाएको हो । साङछी एन्ड आशिष जेभीका इन्जिनियर सञ्जयकुमार महतोले आफूहरूले नै यो वर्ष काम सम्पन्न गर्ने बताउनुभयो । उहाँले चार ठाउँमा झन्डै पाँच किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले यो सडकखण्ड नारायणगढ–मुग्लिन सडकखण्डको वैकल्पिक मार्ग हुने भन्दै साना सवारीसाधन सञ्चालन गर्न सकिने बताउनुभयो । चेपाङको बाहुल्य रहेका पहाडमा कालोपत्रसहितको सडक निर्माण हुने भएपछि यहाँका स्थानीय खुसी बनेका छन् । स्थानीय वीरबहादुर चेपाङले दिनभर हिँड्नुपर्ने सडक कालोपत्र भएपछि एक–दुई घन्टामै पार गर्न सकिने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसम्म लैजान सडक निर्माणपछि सहज भएको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य कृष्ण सिलवालले सडक निर्माणपश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्र बन्ने बताउनुभयो । उहाँले मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा राख्नुभयो । उहाँले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताउनुभयो । रासस

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram