Listen Live: 

चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो

Radio Chitwan
बुधबार, चैत्र १५, २०७९

भरतपुर, चैत १५–

चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो ।

चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला एक साता अघिदेखि सुरु भएको हो । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा एक साताअघि पूजा गरेपछि मेला सुरु भएको थियो । भरतपुर महानगरको वडा नं २३ का वडाध्यक्ष दीपक दबाडीका अनुसार मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । उनले यस वर्ष हजारौँ भक्तजन विक्रमबाबा मेलामा आएको बताए ।

राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारू जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्न थालेका छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांक्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने प्रचलन छ ।

यस्तै माडीको गोद्धक मेलामा पनि भक्तजनको घुइँचो लागेको छ । धार्मिक एवं पुरातात्विक महत्व बोकेको माडी नगरपालिका–१ मा रहेको गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ एवं गोद्धक मेला एक साता अघिदेखि सुरु भएको हो । चैत १७ गतेसम्म मेलासँगै यज्ञ सञ्चालन हुनेछ ।

मेलामा गुरु चैतन्य कृष्णले राम कथावाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । गोद्धक क्षेत्र विकास संस्थाका अध्यक्ष तुलसिंह गुरुङले यहाँ रहेका चार धामको अवलोकन गरी धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताए ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपती कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवं धार्मिक महत्व बोकेका ठाउँ गोद्धक क्षेत्रमा प्रशस्तै छन् । गोद्धकमा पाँचपाण्डवले तपस्या गर्थे भन्ने विश्वास छ ।

प्राचीन किंवदन्तीअनुसार यहाँ परशुरामले तपस्या गरेका थिए । परशुराम ऋषिले आफ्नै आमाको हत्या गरेर पाप मोक्ष ९पाप पखाल्न० गर्न गोद्धक क्षेत्रमा रहेको देउता खोलाको सिरानको कुण्ड ९परशुराम कुण्ड०मा पुगी स्नान गरेकोे धार्मिक विश्वास रहेको छ । धार्मिक पुरातात्विक महत्वका मूर्ति, इनार, कुण्ड अवलोकन गर्न र विशेष पर्वमा मठमन्दिरमा स्वदेशी तथा विदेशी भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यस्तै माडीको सोमेश्वरगढीस्थित कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कालिका मन्दिरमा प्रत्येक वर्ष चैत शुक्ल प्रतिपदादेखि चैत शुक्ल नवमीसम्म विशेष पूजाआजासहित भव्य मेला लाग्ने गर्छ । नेपाल र भारतको सीमाक्षेत्रमा रहेको सो मन्दिर परिसरमा हरेक वर्ष चैतेदशैँको अवसर पारेर हुने मेलामा नौ दिनसम्म पूजाआजा हुने परम्परा छ । मेलामा पूजा गर्न दैनिक दशौँ हजारको सङ्ख्यामा नेपाली र भारतीय भक्तजन आउने गरेका छन् ।

सोमेश्वरगढी पुग्ने पर्यटक तथा भक्तजनको सहजतालाई मध्यनजर गर्दै माडी नगरपालिकाका निर्माण साधन प्रयोग गरी सडकको मर्मत गरिएको र मन्दिरस्थल सरसफाइ, पिउने पानीको व्यवस्था र अन्य आधारभूत काम गरिएको सोमेश्वर क्षेत्र पूजा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताए । उनले यस वर्ष भारतबाट हजारौँ भक्तजन सोमेश्वरमा आएको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यस्थलमध्ये चितवनको सोमेश्वरगढी पनि एक हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram