रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]
सरकारले दूधको मूल्य बढाए पनि उपभोक्ता मूल्य तोक्न सकेन

भरतपुर । सरकारले दूधको मूल्य बढाए पनि उपभोक्ता मूल्य तोक्न सकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा नौ रूपैयाँ बढाएको हो । नौ रूपैयाँ दूधको मूल्य बढ्दा उपभोक्ता मूल्य कति बढाउने भन्ने विषयमा सरकार मौन छ ।
दूधको मूल्यवृद्धिलाई कार्यान्वयनमा ल्याउने र उपभोक्ता मूल्य तोक्ने आधिकारिक सरकारी निकाय दुग्ध विकास संस्थान हो । दुग्ध विकास संस्थानले सरकारले वृद्धि गरेको दूधको मूल्य वृद्धिलाई कार्यान्वनमा ल्याइसकेको छैन भने उपभोक्ता मूल्य पनि तोकिएको छैन ।
संस्थानका महाप्रबन्धक सञ्जीव झाका अनुसार दूधको मूल्य वृद्धिको आधिकारिक पत्र आउन बाँकी छ । उनले भने, ‘शुक्रबारको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाएको हो भन्ने थाहा भयो, तर पत्र आएको छैन । पत्र आएपछि पहिला दूधको मूल्य वृद्धि कार्यान्वयनमा जान्छ ।’ उनका अनुसार एक हप्ताभित्रै दूधको उपभोक्ता मूल्य तोकिनेछ ।
महाप्रबन्धक सञ्जीव झाले कृषि मन्त्रालयबाट दूधको मूल्य वृद्धिको आधिकारिक पत्र आएपछि बल्ल कार्यान्वयनमा लैजाने बताए । उनले भने, ‘उपभोक्तालाई थप मार नपर्ने गरी महँगीलाई बढी बढुवा नहुने गरी अध्ययन गरेर उपभोक्ता मूल्य तोक्छौँ ।’ उनले मूल्य वृद्धि हुनसाथ उपभोक्ता मूल्य भन्न नसकिने बताए ।
उपभोक्ताहरु अब एक लिटर दूधको मूल्य झन्डै १०० रूपैयाँ पुग्ने बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन वृद्धि मूल्य वास्तविक दूध उत्पादन गर्ने किसानसम्म नपुग्ने बताउँछन् । उनी भन्छन्, ‘वृद्धि मूल्य किसानले पाउँदैनन्, किसानको नाममा जो दूध व्यवसायी बनेका छन्, उसले मात्र वृद्धि मूल्य पाउँछन् ।’
विचौलियाको दबाबमा परेर सरकारले मूल्य बढाएको उनको आरोप छ । उनी भन्छन्, ‘उपभोक्ता मारमा परेका छन्, दूध संकलनमा जुटेका विचौलिया, उद्योगीले मात्र मूल्य पाउँछन्, वास्तविक किसानले मूल्य पाउँदैनन्, त्यसैले उपभोक्ता मूल्यवृद्धिको विपक्षमा छन् ।’
दुग्ध विकास संस्थानका महाप्रबन्धक झाले किसानले प्रतिलिटर एक लिटर दूधको मूल्य अब कम्तीमा ६५ रूपैयाँ ५० पैसा पाउने बताउँछन् । उनी भन्छन्, ‘वास्तविक किसानसम्म मूल्य पुग्ने गरी दूधको मूल्य बढेको हो, हामी दोस्रो वा तेस्रो पक्षलाई भन्दा पनि उत्पादन गर्ने पहिलो पक्ष किसान हुन्, उनीहरुको हातमा दूधको उचित मूल्य अवश्य दिन्छौँ ।’ जुनसुकै किसानले अब प्रतिलिटर ६५ रूपैयाँ दूधको मूल्य पाउने उनले दाबी गरे ।
दुग्ध उत्पादक सहकारी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले ४ फ्याट र ८ एसएनएफ आउने दूधले मात्र अब ६५ रूपैयाँ १० पैसा पाउने बताए । उनले भने, ‘दूधमा ४ फ्याट र ८ एसएनएफ आएन भने प्रतिलिटर किसानले ६५ रूपैयाँ पाउँदैनन्, ६०÷६२ रूपैयाँमा मात्र चित्त बुझाउनुपर्ने अवस्था आउँछ ।’ न्यूनतम ४ फ्याट र ८ एसएनएफ दूधको मापदण्ड तोकिएको छ ।
यसपटक सरकारले मूल्य बढाउँदा अध्ययन गरेर बढाएको उनी बताउँछन् । भन्छन्, ‘यसपटक गाईपालक किसान बढी खुसी छन्, विगतका वर्षहरुमा दूधको फ्याटमा ६० र एसएनएफमा ४० प्रतिशत वृद्धि हुँदै आएको थियो । अहिले सरकारले एसएनएफमा ८५ र फ्याटमा १५ प्रतिशत बढाएको छ । जसले गर्दा गाईपालक किसान बढी खुसी भएका छन् ।’ उनका अनुसार गाईको दूधको फ्याटभन्दा एसएनएफ बढी आउँछ ।
निवर्तमान केन्द्रीय अध्यक्ष देवकोटाले उपभोक्तालाई मर्का नपर्ने गरी बजार मूल्य छिटो तोक्न उनले आग्रह गरे । उनले वास्तविक किसानसम्म वृद्धि मूल्य पुग्ने र किसानहरु सरकारको निर्णयबाट खुसी भएको बताए ।
किसानले दूध उत्पादनमा लागत मूल्य नउठेपछि मूल्य वृद्धि गर्न माग गरेको र त्यसको सुनुवाइ भएको उनले बताए ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले न्यूनतम दूधको मूल्यमा सरकारले बढाएको र चितवनका स्थानीय पालिकाले दूधको उत्पादनमा अनुदानसमेत दिएकाले किसानको लागत मूल्य अब उठ्ने बताए । उनले भने, ‘दूधको मूल्य बढ्नसाथ दाना–चोक्करको मूल्य बढ्यो भने दूधको मूल्य बढेको केही अर्थ हुँदैन, दाना–चोक्करको मूल्य वृद्धिमा सरकारले नियन्त्रण गर्नु सक्नुपर्छ ।’
डेरी उद्योगीहरुले ०७८ माघ २८ गते प्रतिलिटर नौदेखि १४ रूपैयाँसम्म दूधको मूल्य बढाएका थिए । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिमा दुई र दुई वर्षमा मात्रै दूधको मूल्य समायोजन गर्न सकिन्छ भन्ने कुरा उल्लेख छ, तर एक वर्षमै सरकारले दूधको मूल्य दुईपटक बढाएको छ ।
डेरी उद्योगीहरुले गत पुस १६ गते अचानक दूधको मूल्यमा प्रतिलिटर १४ रूपैयाँ बढाएका थिए, अध्ययन नगरी दूधको मूल्य बढाएको भन्दै उद्योगीहरुको विरोध भएपछि तत्काल वृद्धि मूल्य फिर्ता भएको थियो ।
अध्ययन गरेर दूधको मूल्य समायोजन गर्ने सर्तमा उद्योगीहरुले वृद्धि मूल्य फिर्ता गरेका थिए । त्यसपछि राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा अध्ययन समिति बनेको थियो । सोही अध्ययन समितिले कृषि मन्त्रालयमा दूधको मूल्य बढाउन सुझावसहित प्रतिवेदन बुझाएपछि शुक्रबारको मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको हो ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]