Listen Live: 

हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी

Radio Chitwan
आइतवार, फाल्गुन २१, २०७९

मनाङ । हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताए । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी पर्‍यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उनले भने, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ।”
उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उनले भने, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ ।”
जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भने । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिए । यसबाट किसानलाई केही राहत मिलेको बताए।
“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उनले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उनले बताए । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”
मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताए । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”, उनले भने ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताए । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उनले भने । उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उनले जानकारी दिए ।
विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उनले बताए । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।
चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram