Listen Live: 

मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार

Radio Chitwan
बुधबार, माघ २५, २०७९

चितवन, माघ २५(

मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ। यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो। निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको व्यवस्थापक घिमिरेले बताउनुभयो। अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उहाँले जानकारी दिनुभयो। “३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे कार्य बाँकी राखिएको छ,” घिमिरेले भन्नुभयो, “पहिरोको जोखिमलाई समाधान गरेपछि त्यहाँ कालोपत्रे गरिन्छ, अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको छ।” २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन्। उहाँले भन्नुभयो, “अब यो सडक भएर यात्रा गर्न सकिन्छ।”

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो। कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो। कोभिड–१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिनुभयो।

सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिनुभयो। सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको महतोले बताउनुभयो। “अन्य स्थानमा कालोपत्रे भइसकेको छ,” उहाँले भन्नुभयो, “बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखेका छौँ, दुई हप्ताभित्र काम सकिन्छ।”

निर्माण सामग्री र अन्य कुनै विषयले अवरोध भएको छैन। त्यसैले फागुन १५ गते अगाडि नै काम सम्पन्न हुने गरी तयारी अवस्थामा रहेको इन्जिनियर महतोले बताउनुभयो। कालोपत्रे सकिएपछि सडक चिह्न र बिग्रेको स्थानमा मर्मत गरिनेछ। अबको दुई हप्तामा यो सडक भएर सवारीसाधनले यात्रा गर्न सक्नेछन्। यस सडकको रिद्धि र शक्तिखोलामा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा पनि पुलको ठेक्का लागिसकेको छ।

पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ। मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ। “ठूला सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न समस्या हुँदैन,” ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक घिमिरेले भन्नुभयो। सडक निर्माणपछि यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था माथि उकासिने इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले बताउनुभयो। उहाँका अनुसार चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीको अवलोकन गर्न आउने पर्यटकका लागि सहज हुनेछ। यस क्षेत्रमा उत्पादन भएको कृषि उपजले बजार पाउने भएकाले यो सडकको धेरै महत्त्व रहेको प्रमुख गुरुङले बताउनुभयो।

दुई पालिका जोड्ने मात्र नभएर राजधानी काठमाडौँ जान अर्को वैकल्पिक सडकका रूपमा विकास भएकाले यसको महत्त्व ठूलो भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो। आन्तरिक पर्यटक तथा पहाडी यात्रा गर्न चाहने सडकको ट्र्याक सञ्चालनमा आएदेखि नै हिँड्न थालेका थिए। पूर्वी चितवनबाट काठमाडौँ जान साना तथा मझौला सवारीसाधनका लागि यो सडक उपयोगी हुने भएको छ।

आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram