Listen Live: 

छोराछोरी पढाउन कवाडी संकलन गर्दै विमला मगर

Radio Chitwan
बुधबार, माघ ११, २०७९

चितवन, माघ १०(

‘आँट दिने दाजुभाई छैन, न्याय माग्न कतै गइन’ यती भन्दै उनी फेरि भरतपुरको नगरवनमा फोहोर खोतल्न थालिन् । यो बेथा भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको नगर वनमा कवाडी संकलन गर्दै आएकी विमला मगरको हो । नाक भरी सिंगान, मुखबाट तरर झरेको ¥याल, वर्षौदेखि ननुहाएको जस्तो शरीरभरी मैलाको टाटा, फोहोरका कारण बटारिएको कपाल हेर्दै घिन लाग्दो मान्छेहरुले सडकमा फालिएका बोतल टिप्दै गरेको त सधै शहरका सडकमा देखिन्छ । यस्तै मानिसले मात्र कवाडी संकलन गर्छन् भन्ने चित्र सबैको मानसपटलमा सजिएको हुन्छ । तर, यो चित्र गलत ठहरिन्छ जब बिमलालाई जो कोहीले भेट्छ । बिमलाले कवाडी संकलन गरेर परिवारको जिविकोपार्जनको स्रोत बनाएकी छन् ।

शनिबार मध्यान्न नगरवनमा ट्याक्टर फोहोर झार्न थाल्यो । रातो रंगको सुकिलो कुर्था सुरुवालमा सजिएकी विमला एक कुनामा फोहोरसँग खेल्न थालिन् । उनी हामी जोकोहीले सोचेको भन्दा फरक देखिइन् । गहुँगोरो वर्णको, साना र चिम्सा आँखा, खै कुन्नी के चिन्ताले खिएको शरीर तर अति मिठो मुस्कान उनको विशेषता नै हो । यस्तो दृष्यले सबैको मनमा झनै कौतुहलता बढाउँछ । उनले फोहोरको थुप्रोमा भेटेको नक्कली सुनको झुम्का खुसी हुँदै सबैलाई देखाइन् । यसको डिजाइन राम्रो भएकोले उनलाई निकै मनपरेको सहजै अनुभव गर्न सकिन्थ्यो । मुस्कुराउँदै उनले झुम्का झोलामा राखिन् ।

यसपछि बिमलाले फोहोरको थुप्रो अगाडि उभिएर विस्तारै आफ्नो अतित सम्झँदै भनिन् ‘पेटको भोक मेट्न र छोराछोरी पढाउन घरघरबाट निस्किएको फोहोरमा सिला खोज्छु । घरमा एक छोरी एक छोरा छन् ।’ छिमेकी जिल्ला गैँडाकोटकी विमलाले दुबैलाई बोर्डिङ स्कुलमा पढाएकी छन् । सँगै भतिजोको जिम्मा पनि आफूलेनै लिएको उनले बताइन् । उनले भनिन् ‘छोरी ६ वर्षको छे, छोरा तीन वर्षको । भतिजो उनीहरु भन्दा ठूलो छ । सरकारी स्कुल मेरो घरभन्दा टाढा छ । बच्चाहरुलाई गाह्रो हुन्छ भनेर नजिकको बोर्डिङ स्कुलमा पढाएको छु । एउटै परिवारको तीन जना भएकाले स्कुलले छोरीको पढाइ निःशुल्क गरिदिएको छ ।’ तर एक जनाको आम्दानीले स्कुल र घरको खर्च टार्न मुस्किल हुने गरेको उनले गुनासो गरिन् ।

‘घरमा बुढा आमाबुबा हुनुहुन्छ । भाउजुले एक्लै घरधन्दा देखि बच्चा बच्ची र आमा बुबा स्याहार्नुपर्छ । म एक्लै छु कमाउने । खर्च टार्न मुस्किल छ । बच्चाहरु अलिक ठूलो भएपछि राम्रो सरकारी स्कुलमा भर्ना गर्नुपर्छ की भन्ने सोचेको छु,’ उनले भनिन् ।

बिमलाको जीवन संघर्ष

२५ वर्षकी विमला ६ कक्षा पढ्दै गर्दा उनको दाइको निधन भएको थियो । त्यसपछि उनले कहिलै किताब समाउन पाइनन् । दाइ रहुन्जेल विद्यालय पढ्नको लागि गएको थिएँ । विमलाले सुनाइन् ‘दाइले ज्याला मजदूरी गरी मलाई पढाउनु भयो । घरपरिवारलाई खुवाउनु भयो । बितेपछि आर्थिक भार भयो । पढ्ने की पेट पाल्ने । त्यसपछि अरुकोमा निमेक गर्न थालेँ ।’

यति भनि बिमला फेरि फोहोरको थुप्रोमा हात डुलाउन थालिन् । हास्दै काम गरिरहेकी बिमलाको अनुहारमा एक्कासी उदासिनता देखिन थाल्यो । छुट्टै पीडाले उनको आँखामा बास बस्न थाले । दबिएको स्वरमा कान्छी श्रीमतीसँग श्रीमान् रहेको बताइन् ।
‘मेरो १६ वर्षको उमेरमा बिहे भयो । उसलाई छोराको आश थियो । मैले छोरी जन्माए । डेढ वर्षको अन्तरालमा छोरा जन्मियो । छोरा जन्मेको एक महिना नपुग्दै सौता घरमा भित्र्यायो, त्यसदिन नै म माइतमा आएर बसँे,’ उनले भनिन् । तनहुँको दमौलीमा श्रीमान्को घर रहेको उनले बताइन् ।

श्रीमान्को नाम र श्रीमान् भन्ने शब्द उच्चारण गर्नबाटै घृणा मान्ने बिमलाले आफ्नो विवाह जबरजस्ती भएको निर्धक्क साथ बताइन् । ‘तीजको दिन रिसिङमा मेला लागेको थियो । हामी केटीकेटी तीन जना साथी मिलेर घुम्न गएका थियौं । उसलाई म चिन्दिन थिएँ । कहिले नदेखेको नचिनेको मान्छेलाई मन पराउने कुरो पनि भएन । तर, केटाहरुलाई मन परेपछि जबरजस्ती हुदो रहेछ । बल लगाएर मैले जित्ने कुरा पनि भएन । मेलामै जबरजस्ती गरेर घर पु¥याए । देख्ने कसैले केही गरेनन्’, उनले भनिन् ।’ बिमलाका श्रीमान् पनि मगर हुन् । श्रीमानसँग उनको त्यतिबेला चिनजान नभए पनि उनको भान्जा भने स्कुल पढ्दाको साथी रहेको उनले बताइन् । भान्जा पनि सो बेला मेलामा श्रीमान्सँग आएकाले उसले जालझेल गरेको शंका बिमलालाई छ ।

१६ वर्षको उमेरदेखि यी सब कुरा भोगेकी बिमलाले न्यायको सहयोग भने नलिएको बताइन् । ‘आँट दिने दाजुभाई थिएनन् न्याय माग्न कतै गइन, अर्को तर्फ बिपन्नता र बोल्ने मान्छे थिएन, कानुनको ज्ञान पनि भएन । आमा बुबाको इज्यतको त्रास पनि भयो । अहिलेको जस्तो अवस्था भए म बोल्थँे । अन्यायको लागि लड्थँे ।’

बिहे गरेर ९ वर्ष श्रीमान्सँग बिताए पनि बिमलालाई श्रीमान्को बारेमा धेरै कुरा थाहा छैन । उनी भन्छिन्, ‘उसले के काम ग¥थ्यो थाहा छैन । बोल्न सोध्न डर लाग्थ्यो ।’ श्रीमान्ले छोड्नुको कारण भने बिमला पहिलो सन्तान छोरी र यौनिक असन्तुष्टी मान्छिन् । ‘ पहिलो सन्तान छोरी भयो । गर्भमा बच्चा हुदा यौन सम्पर्क राख्न हुन्न भन्छन् । यस समय सम्बन्ध राखे पनि हामीले सन्तृष्टि दिन सक्दैनौ रे । सुत्केरी भएको एक महिना नहुदै घरमै सौता ल्याउनुभयो,’ उनले सुनाइन् ।

३ वर्षदेखि श्रीमानसँग छुट्टिएर रहे पनि उनको सम्बन्ध विच्छेद भने भएको छैन । हिंसा र बहुविवाहको मुद्दा हालेर आफ्नो समय खेर फाल्न नचाहेको उनी बताउँछिन् । ‘छोरी एकमा छोरा नर्सरीमा पढ्दैछ । हाम्रो सम्बन्ध बिच्छेद भएको छैन । म जिन्दगीमा अगाडि बढीसकेको मान्छे । झमेलामा पर्न चाहान्न र उनीहरुलाई दुःख दिन पनि मन लाग्दैन । तर, छोराछोरीले बुबा खोजे चिनाउन पछि हट्दिन,’ उनले भनिन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram