Listen Live: 

मन्त्रीहरूले गाडीलाई लिएर गरे तीव्र असन्तुष्टि

Radio Chitwan
मङ्लबार, माघ १०, २०७९

काठमाडौं, माघ १०(

वर्तमान सरकार गठनपछि मन्त्रिपरिषद्को पहिलो बैठकले नै चालू आवमा नयाँ गाडी खरिद नगर्ने निर्णय गरे पनि मन्त्रीहरूले गाडीलाई लिएर तीव्र असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

उपप्रधानमन्त्रीदेखि मन्त्री र राज्यमन्त्रीसम्मले आफूहरूलाई उपलब्ध गराइएको गाडी थोत्रो रहेको भन्दै नयाँ गाडी व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयका सचिवदेखि सवारी व्यवस्थापन शाखासम्मलाई दबाब दिन थालेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शहरी विकास मन्त्री विक्रम पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली लगायतबाट गुनासो आएको सम्बन्धित मन्त्रालयका अधिकारीहरूले स्वीकारेका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई दिइएको गाडी धेरै पुरानो भएको भनेर गुनासो गरेका छन् ।

‘हो पनि, अहिले उहाँ चढिरहेको गाडी १० वर्ष पुरानो हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ’प्रहरी प्रधान कार्यालयबाट झिकाइएको गाडी हो । बेलाबेलामा समस्या आउने गरेकाले पनि उहाँले गुनासो गर्नुभएको छ ।’ मन्त्री लामिछाने बा १ झ ६४४३ नम्बरको निलो गाडी चढिरहेका छन् । गृहमन्त्रीको गुनासोपछि कर्मचारीहरू अप्ठ्यारोमा छन् ।

‘नयाँ गाडी खरिद गर्न सकिन्न, किनभने मन्त्रिपरिषद्कै निर्णय र स्वीकृत वार्षिक कार्यक्रममा पनि गाडी किन्न प्रतिबन्ध लगाइएको छ,’ गृहका अर्का एक उच्चपदस्थ अधिकारीले भने, ‘भएका गाडीलाई नै जसोतसो मर्मत गरेर चलाउनुबाहेक अन्य विकल्प छैन ।’
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । ’उहाँले कहाँ र कसलाई गुनासो गर्नुभएको हो, त्यो कुरा मलाई जानकारी छैन,’ पोखरेलले भने ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेका सचिवालय प्रमुख दीपक बोहोराले पनि गाडीका विषयमा मन्त्रीले कुनै गुनासो नगरेको दाबी गरे ।
शहरी विकास मन्त्री विक्रम पाण्डेले पनि गाडीलाई लिएर गुनासो गरेका थिए । उनलाई मन्त्रालयले बा २ झ ३८४३ नम्बरको फर्चुनर गाडी उपलब्ध गराएको थियो । ‘बरु मेरै निजी गाडीमा सरकारी नम्बर प्लेट लगाएर चलाउन मिल्छ भने त्यसो गरे पनि हुन्छ भन्दै मन्त्रीज्यूले गुनासो गर्नुभएको थियो,’ शहरी विकास मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीज्यू आफैं महंगो गाडीमा चढ्ने गर्नुहुन्थ्यो । सरकारले उपलब्ध गराएको गाडी उहाँको निजी गाडीजत्तिको सुविधासम्पन्न नहुँदा गुनासो गर्नुभएको होला ।’

शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले पनि मन्त्री पाण्डेलाई गाडीमा केही अप्ठ्यारो भएको महसूस आफूहरूले गरेको बताए । ‘खास गरी उहाँको हाइट ’उचाइ’ बढी छ । गाडी होचो भएकाले अलि समस्या भएको हो,’ प्रवक्ता प्रदीप परियारले भने, ’उहाँलाई असहज भएको हो कि जस्तो लागेर अर्को गाडी व्यवस्था गरिएको हो ।’ सोमबार शहरी विकास मन्त्रालयमा पुग्दा मन्त्री पाण्डे चढ्ने दुईवटा गाडी प्रवेशद्वारअगाडि पार्क गरेर राखिएको थियो ।

फर्चुनर कम्पनीको बा २ झ ३८४३ नम्बरको गाडी पछाडि राखिएको थियो भने अगाडिपट्टि बागमती प्रदेश ०१–००२ झ ५२८४ नम्बरको गाडी थियो । दुवै गाडीमा राष्ट्रिय झण्डा छोपिएको थियो । अगाडि रहेको गाडीको उचाइ पछाडिको भन्दा अलि बढी थियो । केही समयपछि मन्त्रालयका कर्मचारीहरू बागमती प्रदेश ०१–००२ झ ५२८४ नम्बर गाडीको नम्बर प्लेट नापिरहेको अवस्थामा भेटिए । नापजाँचको प्रयोजनबारे सोध्दा उनीहरूले केही खुलाएनन् । अर्का एक कर्मचारीले भने त्यहाँ रहेका दुवै गाडी मन्त्रीका लागि भएको बताए ।
‘आज पनि मन्त्रीज्यू पहिलेकै गाडीमा आउनुभएको थियो । गाडी सानो भयो भनेर गुनासो गर्दै आउनुभएका कारण स्थानीय पूर्वाधार विभागबाट नयाँ गाडी झिकाइएको हो,’ ती कर्मचारीले भने, ’स्थानीय पूर्वाधार विभाग पहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत थियो । तर, अहिले त्यो विभाग यस मन्त्रालयमातहत नै रहेकाले मन्त्रीज्यूका लागि गाडी मगाइएको हो ।’ अहिले आएको गाडी १ करोड ३० लाख जति मूल्यको रहेको उनले खुलाए । ’मन्त्रीज्यू आफैं धेरै महंगो गाडी चढ्नुहुन्थ्यो होला, सरकारी गाडी उहाँलाई मन परेको छैन,’ ती कर्मचारीले थपे, ’अझै पनि उहाँ सन्तुष्ट हुनुहोला भन्ने लागेको छैन ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पनि गाडीलाई लिएर असन्तुष्टि व्यक्त गरेकी छन् । उनलाई मन्त्रालयले ह्युन्डाइ कम्पनीको बा २ झ १०८९ नम्बरको कालो गाडी उपलब्ध गराएको थियो । तर, उक्त गाडी धेरै सानो भयो, पुरानो भयो भनेर राज्यमन्त्रीले गुनासो गरेकी थिइन् ।

गुनासोपछि मन्त्रालयले उनलाई स्कोर्पियो उपलब्ध गराएको छ । राज्यमन्त्रीलाई नयाँ गाडी उपलब्ध गराइएपछि पहिलेको गाडी पार्किङमा थन्क्याइएको छ । तीन दिनदेखि मन्त्रालयको पार्किङमा थन्किएको गाडी धुलाम्मे अवस्थामा भेटियो । त्यसमा पनि झण्डा छोपिएको अवस्थामा थियो । उनका सहयोगी विष्णुप्रसाद गैरेले पहिलेको गाडीलाई लिएर राज्यमन्त्रीले असन्तुष्टि व्यक्त गरेको स्वीकारे ।

‘मन्त्रीज्यू अर्घाखाँचीको हुनुहुन्छ । उहाँलाई आफ्नो भूगोलमा जान समेत गाडी आवश्यक पर्ने हुनाले यो होचो गाडीले हुँदैन भनेर असन्तुष्टि व्यक्त गर्नुभएको थियो,’ गैरेले भने, ‘एक त गाडीको हाइट पनि कम थियो, अफरोडमा चल्ने गाडी आवश्यक परेको हुनाले अर्को गाडी माग्नुभएको हो ।’ तीन दिनअघि मात्र स्कोर्पियो उपलब्ध गराइएको उनले बताए ।
यी त केही उदाहरण मात्र हुन्, अन्य मन्त्रीबाट पनि विभिन्न किसिमका गुनासो आइरहेको गृह मन्त्रालयका एक सहसचिवले बताए ।

‘हुन त स्कोर्पियो, स्टोर्मलगायतका गाडीहरू निकै पुराना भइसकेका छन्,’ ती सह–सचिवले भने, ’संघीय मन्त्री भएर पनि पालिका प्रमुखले चढ्ने भन्दा पनि थोत्रा गाडी दिएको भनेर मन्त्रीज्यूहरूले असन्तुष्टि व्यक्त गरिरहनुभएको छ ।’
खानेपानी मन्त्रीको जिम्मेवारी तोकिएका अब्दुल खानले पनि गृहमन्त्रालयले उपलब्ध गराएकै गाडी चढिरहेका छन् । मन्त्रालय नतोकिँदा बिना विभागीय मन्त्रीको हैसियतमा गृहको गाडी उपलब्ध गराइएको थियो । खानेपानी मन्त्रालयमा हाजिर नभएकाले मन्त्रालयको गाडी उनलाई उपलब्ध नगराइएको उक्त मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram