चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]
कस्तो छ अहिले हलमा चलिरहेको 'लप्पन छप्पन-२'?
जापानी निर्देशक अकिरा कुरुसावाको एउटा भनाइ छ- एउटा झुर स्क्रिप्टबाट दामी निर्देशकले पनि राम्रो फिल्म बनाउन सक्दैन। त्यसैले उत्कृष्ट फिल्मका लागि उत्कृष्ट कथा अवश्य चाहिन्छ।
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लप्पन छप्पन २' मा अकिराको यो भनाइ लागू हुन्छ।
यो मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म हो। उत्कृष्ट कलाकारको टिम छ। उत्कृष्ट छायांकार पनि। निर्माण बजेट पनि कम छैन। तर अकिराले भनेझैं धेरै कुराले साथ दिँदादिँदै कथा बलियो नभएपछि फिल्म खल्लो भएको छ।
'लप्पन छप्पन २' मा कथा छैन बराबर छ। जे छ, त्यसमा दम छैन। सिनेमामार्फत् भन्न खोजिएको के हो भन्ने थाहा पाउन मुश्किल हुन्छ।
एउटा जर्नेलसँग युद्ध गर्न हतियारले सुसज्जित सेना छ तर उसलाई किन वा कोसँग युद्ध गर्ने थाहा छैन। अनि उसले जथाभाबी हतियार चलाउने निर्णय लिन्छ भने त्यसको परिणाम के होला? निर्देशक भट्ट त्यस्तै जर्नेल बनेका छन्।
लप्पन छप्पन-२ को कथा पारस राणा नामका व्यापारी वरिपरि घुम्छ। उसले आफ्ना व्यापारिक दुश्मनले देशको सत्ता पल्टाउन विदेशबाट कालो धन ल्याउँदैछ भन्ने थाहा पाउँछ। त्यो कालोधनलाई नेपाल आउनबाट रोक्न ऊ विदेश नै जान्छ र दुश्मनहरूसँग लड्न सुरू गर्छ।
लप्पन छप्पन-२ को सार लगभग यही हो। उसले त्यो पैसा नेपाल आउनबाट कसरी रोक्छ भन्नेमै बाँकी फिल्म घुम्छ।
यो कथाभित्र पनि केही महत्वपूर्ण सन्देश त होला नि भनेर आशावादी हुनुअघि पारसमणि प्रधानको 'सिकारू कविप्रति' कविताको एउटा पंक्ति पढ्नुहोस्ः
कवि कविता होस्, कविता कवि होस्। तब पो हुन्छ...
शब्द थुपारीकन के हुन्छ? भाव भए पो हुन्छ...
लप्पन छप्पन-२ पनि शब्दै शब्दले भरिएका छन्। तर ती शब्दले न कुनै अर्थ छ, न तिनले कुनै विचार व्यक्त गरेका छन्। फिल्म हेरेर बाहिर निस्किँदा यसले के भन्न खोजेको हो भनेर दर्शकले थाहा पाउन नसक्नु नै सबभन्दा ठूलो असफलता हो।
निर्देशक भट्टले पाँच वर्षअघि 'लप्पन छप्पन' को पहिलो संस्करण बनाएका थिए। फ्लप भयो। त्यही नामलाई निरन्तरता दिँदै लप्पन छप्पन-२ बनाए। अघिल्लोको तुलनामा सुधार हुनुको साटो अझै कमजोर कथा यसमा प्रस्तुत गरिएको छ।
पहिलो लप्पन छप्पनको कथा सुस्त गतिमा अगाडि बढेको थियो। दोस्रो भागमा कथा दौडाइएको छ। यो दक्षिण भारतीय फिल्मको प्रभाव हुन सक्छ। दक्षिण भारतीय फिल्म हेर्ने नेपालीको संख्या उल्लेख्य बढेको छ। दक्षिण भारतीय फिल्मका हिन्दी डब नेपाली युट्युब ट्रेन्डिङमा पर्नुले यो पुष्टि गर्छ।
लप्पन छप्पन-२ लाई पनि दक्षिण भारतीयकरण गर्न खोजेझैं लाग्छ। प्रशस्त लडाइँ, झगडा र चर्को ध्वनि। मुख्य पात्रलाई सुपरहिरो जस्तो जे पनि गर्न सक्ने देखाइएको छ। त्यसैले लप्पन छप्पन-२ दक्षिण भारतीय फिल्म बनाउने एउटा असफल प्रयोगजस्तो देखिएको छ।
फिल्मको महत्वपूर्ण पक्ष भनेको दर्शकसँगको सम्बन्ध हो। यसको सफलता फिल्मले दर्शकसँग स्थापित गरेको भावनात्मक सम्बन्ध हेरेर नापिन्छ। कुनै फिल्मले दर्शकसँग यतिसम्म सम्बन्ध बनाउँछ, मुख्य पात्रले पिटाइ खाँदा दर्शकका आँखा रसाउँछन्, बग्छन्। हिरोले खलनायकलाई कुट्दा उत्तेजित हुँदै दर्शक ताली बजाउँछन्।
यसरी दर्शकसँग सम्बन्ध बनाउन पात्रले दर्शकका कथा बोक्नुपर्छ। ग्याङस्टारसम्बन्धी फिल्ममा यो काम निकै कठिन हुन्छ। सबैजसो दर्शकको जीवन ग्याङस्टारसँग सम्बन्धित हुँदैन। यस्तो अवस्थामा दर्शकलाई फिल्मसँग जोड्ने भनेको सत्य र असत्य पक्ष छुट्याउने र दर्शकलाई एउटा पक्षसँग नजिक राख्ने हो।
लप्पन छप्पन-२ यो काममा पनि चुकेको छ। यसमा न दर्शकको कथा भनिएको छ। न सत्य र असत्यका लागि लड्ने कोही छ। फिल्ममा पत्याउनै मन नलाग्ने द्वन्द्व दृश्य छन्। ग्याङफाइटभन्दा 'सुपरहिरो' ले एकोहोरो कुटेजस्तो अनुभव हुन्छ। एकआपसमा मुक्काबाजी, गोलीहरू बर्साइरहेको र मारकाटका दृश्यले दर्शकलाई फिल्मसँग जोड्न सकेको छैन।
कथा लेख्दा पात्र स्थापित गर्न समय खर्चिएको छ। सबै पात्रलाई उत्तिकै महत्व दिने दबाब निर्देशकलाई देखिएको छ। यसले फिल्म लम्बाएको छ।
त्यस्तै दृश्य पूर्वानुमान गर्न सकिने र संवाद सुन्दा दिग्दार लाग्ने छन्। फिल्मको अन्तिमतिर बाबुछोराको मिलन हुन्छ। उक्त दृश्य किन आँसुमय भएको हो भन्ने फिल्मले पुष्टि गर्न सक्दैन।
लप्पन छप्पन-२ को टिम उत्कृष्ट छ। यसलाई मल्टिस्टारर फिल्म भन्न सकिन्छ। सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही जस्ता कलाकारले भरिएको। फिल्म हेर्दै जाँदा महत्वपूर्ण स्थान ओगट्ने अरू कलाकार पनि देखिन्छन्। उनीहरूको उत्कृष्ट अभिनय र पुरुषोत्तम प्रधानको छायांकनले फिल्मको लाज छोप्ने काम गरेको छ।
सौगात मल्ल पहिले नै गुन्डा पात्रमा जमेका अभिनेता हुन्। उनले लुट, लुट-२, षडङग, मुखौटा, लप्पन छप्पन जस्ता चलचित्रमा यस्तो भूमिकामा अभिनय गरिसकेका छन्। यसमा पनि उनी आफ्नो पात्रमा जमेका छन्।
अर्पण थापाको पात्रलाई लप्पन छप्पनको चमेरोबाट थोरै अगाडि बढाएर 'ब्याटम्यान' बनाउन खोजिएको देखिन्छ। तर उनलाई द्विअर्थी शब्द बोल्न लगाएर दर्शक हँसाउने प्रयास असफल हुन्छ। त्यसका बाबजुद थापा आफ्नो भूमिकालाई न्याय गर्न सफल भएका छन्।
अभिनयसँगै फिल्मको अर्को सबल पक्ष ग्याङफाइट र चर्को ध्वनिको संयोजन हो। यसमा तालमेल मिलेको भन्नुपर्छ।
फिल्ममा देखाइएका स्थान, बंगला तथा महँगा गाडीहरूले अन्तर्राष्ट्रिय गुन्डाहरूको सञ्जाललाई विश्वासयोग्य बनाउन भरपुर सघाएका छन्। तर नेपालको धनाढ्य व्यापारीको छोरा गुन्डाहरूसँग लड्न एक्लै युरोप र अष्ट्रेलिया पुगेको कथा नेपाली दर्शकलाई अपत्यारिलो लाग्छ।
कथा र सन्देश नखोजी आफूलाई मनपर्ने कलाकारको नेपाली फिल्म हेर्न चाहनु हुन्छ भने लप्पन छप्पन-२ को टिकट खर्च व्यर्थ जाँदैन। फिल्मले केही छाप छोड्ला भन्ने आश चाहिँ नराख्नुहोला!
चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
चितवन, पुष २७ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ । महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरु हुने दशौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]