Listen Live: 

धुमिल डायरी

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

‘ताराहरू आकाशमा चम्किँदैछन्। चम्केकासँग म प्रश्नहरू गर्न सक्दिनँ। मलाई लाग्छ धेरै चम्किलो चकमन्न अँध्यारो नै हो। अँध्यारोझैं देखिनेले अँध्यारोलाई नै प्रश्न गर्नु आफ्नै परिधिलाई आफैं  प्रश्न गर्नुजस्तै हो। म चाहन्नँ मेरो उपस्थितिमाथि म आफैंले प्रश्न गरूँ। यतिका वर्ष म प्रश्नहरूको गन्जागोलमा रूमलिएकी थिएँ। त्यो दु:खद् थियो। र म दु:खको निरन्तरता अवश्य चाहन्नँ। चाहन्छु त केबल एक सुकुन, मुक्ति र एक शान्त शून्यता।’

यो उसको डायरीको अन्तिम पाना थियो। ऊ को हो म चिन्दिनँ। कसैको अभिव्यक्तिको अन्त्य यति कठोर र यति सुन्दर पनि हुनसक्छ मलाई कहिल्यै लागेको थिएन। उसको डायरी एक धुमिल रंगको छ। सायद धुमिलता नै उसको परिचय  हो।  म उसलाई चिन्दिनँ र चिन्दछु पनि। चिन्दछु त केबल डायरीमार्फत्। त्यो खैरो रंगको डायरी मैले माइक्रो बसको अन्तिम सिटमा फेला पारेको थिएँ। बिना नामको त्यो डायरी कसको थियो र हो म बेखबर छु।

किन आफ्नै डायरीमा पनि आफ्नै नाम लेख्दैन मानिस ? मलाई ऊ देखेर किनकिन रिस उठ्छ। उसले प्रयोग गरेको भाषा हेर्दा लाग्छ यो कुनै छोरी मान्छेको डायरी हो। तर रंग..... भने खैरो छ। लाग्छ यो कुनै उदास बेरंगी पुरूषको डायरी हो। तर किनकिन ऊ पुरूष हो भनेर म मान्न तयार छैन। उसका अक्षरहरू खिरिला छन् ..... उदासीले बेरंगिएका कुनै आधुनिक फकिरका अक्षरहरूजस्ता।

मलाई ऊ कस्ती होली भन्ने लागिरहन्छ र सदा लागिरहनेछ। उसले प्रयोग गरेको क्रियापदले म ऊ कुनै छोरी मान्छे हो भन्नेमा प्रष्ट छु। तर डायरी भएर पनि किन यो डायरी जस्तो छैन। किन उसले ऊ को हो ? कहाँ बस्छे ? कस्ती छे ? भनिन। किन उसले आफ्नो उपस्थितिलाई आफ्नो परिचयसँग जोडिन ? म अचम्ममा छु।

एक अपरिचित डायरीको पाठक बनेको छु। उसका अक्षर र शब्दहरूले मलाई तान्दैछन्।

करिब सय पेजको डायरी पढिसक्दा पनि म उसलाई अझ पढ्न चाहिरहेको छु। उसको डायरीको सुरूआत र अन्त्यमा अनौठो सामञ्जस्यता छ। पढ्दा यस्तो लाग्छ यो कुनै बिम्बमा बाँच्ने कविको कवितात्मक डायरी हो।

बन्द कोठामा बेस्सरी निस्सासिएझैं
कहिलेकाही आफैँसँग निस्सासिन्छु
हेर्छु वरपर आफ्नै उडानमा मस्त चराहरू
आफ्नै खुसीमा मस्त फूलहरू 
किन कुण्ठित हुन्छु आफैंसँग?
किन बिर्सन सक्दिनँ बिर्सनेहरूलाई?
किन मानिस यतिधेरै साँघुरो छ ?
आफ्नै पदचापले आफैंलाई थिचेजस्तो 
आफ्नै शब्दभित्र आफ्नै अक्षर लुकेजस्तो 
यतिधेरै विरोधाभाष
अहँ! म चाहन्नँ तिम्रो आँगन मेरो बनोस्
म तिम्रो बनूँ
तिमी मेरो बन
आफ्नै लागि आफ्नै मुक्तिको घोषणा गर्दैछु
अबबाट मेरा शब्दहरू केबल मेरा हुनेछन्।

यो असोज १ को पहिलो दिनको डायरी थियो। मैले भेटेको उक्त डायरीको पहिलो पाना। उसको डायरीको रंगझै उसको लेखाइमा पनि एक खालको धुमिलता भेट्टिन्थ्यो जसले मलाई ऊ बारे अझ जिज्ञासु बनाउँदै थियो। मैले निराश र गम्भीर बहस गर्ने छोरी मान्छे पट्टकै भेटेको थिइनँ। उसको डायरीले मैले बुझेको छोरी मान्छेको सामान्यकृत परिभाषालाई नराम्ररी तोडिदिएको थियो। हुनतः म आफैं गम्भीर बहसमा रमाउने छोरा मान्छे पट्टकै होइन र पनि उसले जे लेखेकी छ त्यसले मलाई गम्भीर बन्न बाध्य बनाएको छ।

मैले गम्भीर भएर केही लेखेको छैन। उसका आफ्नै भावना माथिका ती निर्मम अक्षरहरू किनकिन मलाई अमूर्ततका अर्को अध्याय जस्तो लाग्छ। हुन त भावनामाथि कलमको सहायता लिनुको कला अर्कै होला। म त्यो कला बेगरको मानिस हो। मैले आफ्ना लागि कहिल्यै लेखिनँ। 

रातो गुलाफ चाहेको दिन 
कालो बादल उपहार दियौ 
कालो बादलले मात्र बिनाश गराउँछ
भो प्रिय मलाई छोडिदेऊ। 

स्कुले जीवनमा आफूले बनाउन नसकेको प्रेमिकालाई मैले लेखेको यी पहिला र अन्तिम हरफहरू थिए। मलाई लाग्थ्यो लेखक भनेकै प्रेम लेख्नेहरू हुन्। तर बिनाप्रेम पनि कोही किन त्यति गम्भीर बन्न सक्छ भन्ने कुरा उसको डायरी बुझाएको छ मलाई। डायरीको बीच पानामा ऊ लेख्छे,  ‘म बिम्बझैं अपव्याख्याको पुरानो फेरिस्त बन्न चाहन्नँ।  

आज पनि मेरा कलमका मसीहरूले कालो रंग मात्र लेख्न सक्छ। मान्छेहरूले बुझ्लान् यो विरोधको रंग हो। तर होइन म निराश छु। यो शून्य निराशा यदाकदा मलाई ठिकै लाग्छ तर सधैं होइन। कहिलेकाहीँ  लाग्छ म सामान्य भैदिऊँ। तर म बन्न सक्दिनँ। सामान्य बन्न चाहिने ती असामान्य  गुणहरू मसँग छैनन्। भ्यानगग झैं कोही कसैले मलाई मन पराउन सक्छ भन्ने बुझेको दिन मलाई लाग्नेछ म सामान्य नै हुँ। तर उसले झैं म मन पराउँछु भन्नेलाई असामान्य उपहार पक्कै दिने छैन। म सामान्य नै बन्नेछु। म त्यो दिन जीवनलाई गुलाफी रंगले व्याख्या गर्नेछु। म मेरो कालो मसीको अन्त्य चाहन्छु। तर यो सामान्य इच्छा मेरा लागि असामान्य बन्दैछ किन म बुझ्न सक्दिनँ।’

यो कुनै कथाको द्वन्द्वझैं उसको जीवनको द्वन्द्व हो कि भन्ने मलाई लाग्दैछ। तर नहुन पनि सक्छ। तर किन उसलाई मन पराउछु कसैले भनेको छैन मलाई किनकिन लाग्छ ऊ मन पराउन लायक छ। उसको कालो मसीले उसको निख्खरतालाई यसरी पोतिदिएको छ लाग्छ ऊ कुनै जादुवी परी हो जसको भाषामा मजस्ता धेरै डुब्न सक्छन्। तर किनकिन म उसको निराशाले चिन्तित भएको छु। जीवनका तमाम रसमध्धे नवरसभित्र नअटेको यो जीवन एक धुमिल रस हो। तर ऊ निराशाको रंगमा यसरी पोतिएकी छ लाग्छ त्यो नै ऊ हुनु हो। विनाकारण म उसलाई व्याख्या गर्न खोज्दैछु किन गर्दैछु? मसँग उत्तर छैन।

डायरीका पानाभित्र बिना परिचय, बिना कुनै नाम, र वास्तविक घटना विवरण नै ऊ आफ्नैपनको भाषामा परिचित छ। के ऊ लेखक हो सायद होइन मैले निराशा लेखेर लेखक बनेको कोही भटेको छैन। उसको लेखाइमा सत्य र झूटका परिधिहरू भेटिँदैनन्। म उसलाई सत्य र झूट दुवै मान्न सक्छु।

ऊ कुनै अक्षर होइन सायद कुनै बिन्दु हो आकारको स्पष्टताले उसलाई व्याख्या गर्न मिल्दैन। सायद अनुभूतिका तहहरूमा ऊ एक अनुभूति मात्र हो, कस्तो म भन्न सक्दिनँ।

ऊ चाहन्छे जीवनलाई गुलाफी रंगले व्याख्या गर्न। किन किन म पनि चाहन्छु उसको गुलाफी जीवन व्याख्या पढ्न। तर के गुलाफी रंगले ऊ जीवनलाई व्याख्या गर्न सक्ली ? यिनै प्रश्नहरू मसँग उसका लागि बाँकी छन्। ऊ के भेटिएली ? अथवा हराएको पुरानो डायरी खोज्दै मेरो छेउ आइपुग्ली? के म उसँग म अनिल तपाईंको डायरीको पाठक भन्दै परिचय दिन सकुँला? यी सोचाइका तरंगहरूले मलाई रोमाञ्चक र निराश दुबै बनाएको छ। 

कसैको डायरी पढेर ऊबारे यति धेरै गम्भीर बन्नु सही हो कि गलत हो म बुझ्न सक्दिनँ। सही गलतको सम्बन्धले मानव सम्बन्धलाई विरलै व्याख्या गर्न सक्छ। तर म उसको डायरी पढेपछि किनकिन नराम्ररी विरक्तिएको छु।

विरक्तिनुको आफ्नै कारण छ। किनकिन म उसँग भेटेर भन्न चाहन्छु , ‘म तिमीलाई मन पराउँछु। तिमीसँग नभेटी नबोली पनि मन पराइदिन सक्छु। तर कृपया जीवनलाई कालो मसीले नै व्याख्या गर अन्ततः तिमी धुमिलतामै सुन्दर देखिन्छौ।’

आन्य समाचारहरु:-
May 1, 2023
अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी

चितवन, वैशाख १८( अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको […]

April 2, 2023
मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ

रौतहट, चैत १९( रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको […]

March 3, 2023
व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यवद्धता

काठमाडौं फागुन १९( व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका […]

February 19, 2023
किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै

काठमाडौं, फागुन ६– किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram