Listen Live: 

रत्ननगर नगरपालिकाको सार्वजनिक सुनुवाइ : गुनासोभन्दा सुझाव बढी

Radio Chitwan
मङ्लबार, असार २६, २०८१

रत्ननगर । रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको विकासको लागि सुझाव दिएका छन् । एक वर्षभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव संकलनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।

श्रीकृष्णप्रणामी मन्दिर (धर्मधाम) जिरौनाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासोभन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण, तटबन्ध, खानेपानी, पर्यटन प्रवद्र्धन र शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा सुझाव दिएका छन् । नगरवासीहरुले सोलार बत्तीको उचित व्यवस्थापन, सार्वजनिक जग्गामा चिल्ड्रेन पार्क, कृषि तथा पशुपालनमा अनुदान वितरण, सडक बत्तीको व्यवस्थापन, विद्यालयमा दिवा खाजाको अनुगमन, सौराहाको बसपार्कको व्यवस्थापनलगायत सुशासन प्रवद्र्धनलगायतका विषयमा गुनासोसँगै समाधानका उपायबारेमा रायसुझाव दिएका दिए ।

कार्यक्रममा सहभागी अधिकांश नगरवासीले स्थानीय सरकारले सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउन सुझाव दिए । कार्यक्रममा रत्ननगर—१२, जिरौनाका पूर्वशिक्षक मोहनप्रसाद भट्टराईले शिक्षक सरुवा गर्ने प्रवृत्ति व्यावहारिक नभएको र सामुदायिक विद्यालयतर्फ एसइई परीक्षाको नतिजा कमजोर रहेको भन्दै नगरपालिकाले शैक्षिक सुधार गर्ने नीति अविलम्ब अवलम्बन गर्न सुझाव दिए । 

रत्न्नगर—१२ कै माया विकले सुकुमबासी महिलाको आकृति महिला समूहलाई भवन निर्माणका लागि बजेट छुट्याउन माग गर्दै समुदायमा ग्राभेल बाटोमात्रै रहेकाले कालोपत्रे गर्न आग्रह गरिन् । यस्तै सोही वडाका उदय भण्डारीले युवाहरु हातमा पासपोर्ट बोकेर विदेश जाने लाइनमा रहेकाले युवा उद्यमीमैत्री कार्यक्रम लागू गर्न सुझाव दिए । उनले सुकुमबासीका लागि भोट बैंकमात्र नबनाई लालपुर्जा वितरण गर्नुपर्ने बताए ।   

रत्न्नगर—११ का निशा मगरले आफ्नो वडामा साँझबिहान हिँड्डुल गर्दा बाघको जो्खिम बढेकाले जंगलको सिमाना छुट्याएर तटबन्ध गर्न सुझाव दिइन् । रत्ननगर—३ का शम्भुभक्त थपलियाले रत्ननगर खानेपानीको स्रोतको संरक्षण गर्न स्थानीय सरकारले विशेष चासो राख्नुपर्ने बताए । 

पत्रकार केदार शर्माले नगरपालिकाको इन्धन खर्च, खाजा खर्च र व्यावसायिक करका विषयमा सवाल उठाएका थिए । यस्तै, गीता सिंखडाले महिला उद्यमीशील तालिमको निरन्तरताको माग गरिन् । शिक्षक ददिराम पौडेलले सामुदायिक विद्यालयमा ५० प्रतिशत छूटमा खानेपानी तथा विद्युत् महसुल व्यवस्था गर्न सुझाव दिए । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले किसानलाई गाईभैंसी बोक्ने गाडीको व्यवस्था गर्दै घाँसमा दिएको अनुदानलाई निरन्तरता दिन माग गरे । 

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले पर्यटकीय क्षेत्र सौराहामा बपार्कको व्यवस्थापन गर्न र ऐलानी जग्गामा टावरसहितको चिल्ड्रेन पार्क निर्माण गर्न सुझाव दिए । कार्यक्रममा पार्वती न्यौपाने, शोभा ओली शर्मा, राजन घिमिरे, दीपक थापा, गन्जसिंह लामालगायतले नगरभित्र भइरहेका विकास निर्माणको सरहना गर्दै सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए ।

नागरिकको गुनासो र सुझाव सुनेपछि मेयर प्रलाद सापकोटाले पर्यटकीय नगरी सौराहालाई उच्च महत्त्व दिएर रत्ननगरलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरी विकासको गतिलाई अगाडि बढाएको बताए । ‘कृषि र पशुपालनको लागि पर्याप्त अनुदान दिएका छौँ, शिक्षा र स्वास्थ्यमा नागरिकको अपेक्षाअनुसार काम गरेका छौँ’, उनले भने, ‘काम गरेन भनेर चिया पसलमा गफ नगरौँ, एकपटक सबैले आआफ्नो वडा निरीक्षण गरौँ । आफ्नो बजेटको सीमाले धानेसम्म काम गरेका छौँ । हामी काम गर्न आएका हौँ, नागरिकको अपेक्षाअनुसार काम गरिरहेका छौँ ।’

उनले सौराहाको पर्यटन प्रवद्र्धन गर्न र दीर्घकालीन आय वृद्धि गर्न ५९ करोड रुपैयाँकोे लागतमा रत्ननगर हरियाली पार्क निर्माण भइरहेको जानकारी दिए । उनले नगर गौरवको आयोजनाअन्तर्गत लौरीघोल र पञ्चनदी तालको संरक्षणका लागि विशेष प्राथमिकतामा राखिएको बताए । 

कार्यक्रममा उपमेयर यादवप्रसाद पाठकले विकास निर्माणको गुणस्तरका लागि नगरपालिकाले कसैसँग सम्झौता नगर्ने बताए । विकास निर्माणको नमुना हेर्न जयमंगला बजार अवलोकन गर्न उनले आग्रह गरे । करको दायरा बढाइएको तर दर भने पुरानै कायम रहेको उनले सुनाए । करमा अनियमितताको सवालमा तलमाथि गर्ने कर्मचारीलाई कडा कारबाही गर्ने प्रतिबद्धता उनले जनाए ।  

शैक्षिक गुणस्तर खस्किएको सवालमा उनले शिक्षकहरुलाई इमानदारितापूर्वक पढाउन निर्देशन दिँदै विद्यालयमा राजनीति सह्य नहुने र राजनीति नै गर्ने भए आफूले जस्तै शिक्षण पेसा छोडेर आउन चेतावनी दिए । राम्रो गरेको कामलाई जस दिनुपर्ने र नराम्रो गरेको भए सुध्रिन तयार रहेको बताए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालू आर्थिक वर्षमा भएका कामकाबाही तथा उपलब्धिबारे प्रकाश पार्दै नागरिकको सुझाव र अपेक्षाअनुसार काम भइरहेको बताए । उनले गत चालू आर्थिक वर्षको पुँजीगत खर्च ८० प्रतिशत र चालू खर्च ७६ प्रतिशत गरी समग्रमा ७८ प्रतिशत बजेट खर्च भएको विवरण पेस गरेका थिए । गत आर्थिक वर्षमा चालू खर्च ६३ प्रतिशत र पुँजीगततर्फ ७४ प्रतिशत बजेट खर्च भएको थियो ।  

नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले रत्ननगरको श ैक्षिक गुणस्तर खस्किएकोमा आफू चिन्तित रहेको तर समग्रमा ६८ प्रतिशत नतिजा आएकोे बताउँदै आगामी दिनमा सुधारका लागि पहल गर्ने बताए । संस्थागत विद्यालयमा पुनः भर्ना शुल्क नलिएको प्रष्ट पार्दै सामुदायिक विद्यालयका हकमा अभिभावककै आग्रहमा अतिरिक्त कक्षा सञ्चालन भएको र अभिभावकले सहयोग स्वरुप विद्यालयलाई सहयोग गरेको बताए । सामुदायिक विद्यालयमा कहीँकतै कुनै पनि शुल्क लिएको गुनासो आएमा कारबाही गरिने उनले बताए ।  

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बिप्स मिडियाले गरेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram